कांग्रेस विवाद : टिकटको हस्ताक्षर अरूलाई दिन देउवा तयार, महामन्त्रीहरू ‘सल्लाह गरेर आउँछौँ’ भन्दै बाहिरिए

कांग्रेस विवाद : टिकटको हस्ताक्षर अरूलाई दिन देउवा तयार, महामन्त्रीहरू ‘सल्लाह गरेर आउँछौँ’ भन्दै बाहिरिए

काठमाडौं : नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको निर्णायक वार्तामा सभापति देउवा लचक देखिएका छन्।

तर, महामन्त्रीद्वयले तत्काल सहमति नजनाई आफ्ना समूहका साथीहरूसँग सल्लाह गरेर पुनः फर्कने भन्दै देउवा निवासबाट बाहिरिएका छन्।

देउवा निवास महाराजगन्जमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकताका लागि सभापति देउवा जस्तोसुकै त्याग गर्न तयार रहेको जानकारी दिए।

‘हस्ताक्षर मेरो लागि ठूलो कुरा होइन’
वार्तामा विशेषगरी आसन्न निर्वाचनमा टिकट वितरण गर्दा कसको हस्ताक्षर चल्ने भन्ने विषय प्रमुख रूपमा उठेको थियो।

विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति वा अन्य संयन्त्रको हस्ताक्षर हुनुपर्ने माग राखिरहेका बेला देउवाले केन्द्रीय समितिले निर्णय गरेमा आफू हस्ताक्षरको अधिकार छाड्न तयार रहेको सन्देश दिएका छन्।

डा. महतका अनुसार सभापति देउवाले भने, ‘पार्टी फुट्नु हुँदैन, यो पार्टीको भविष्य छ। पार्टी बचाउन म त्याग गर्न तयार छु। यदि मेरो हस्ताक्षरकै कारण सहमतिमा अप्ठ्यारो पर्छ र पार्टी एकतामा बाधा पुग्छ भने मेरो लागि हस्ताक्षर महत्त्वपूर्ण कुरा होइन। केन्द्रीय समितिले पास गरेर जोसुकै नेतालाई हस्ताक्षरको अधिकार दिए पनि मलाई समस्या छैन।’

प्रवक्ता महतले समानुपातिक र राष्ट्रिय सभाको टिकटमा सबैको सहमति र केन्द्रीय समितिको निर्णयअनुसार नै सभापतिको हस्ताक्षर प्रयोग भइसकेको स्मरण गराउँदै अब प्रत्यक्ष तर्फको टिकटमा पनि केन्द्रीय समितिले निकास निकाल्ने बताए।

विशेष महाधिवेशनका मुद्दामा लचकता
असन्तुष्ट पक्षले उठाएका विशेष महाधिवेशनका मुद्दाहरूको स्वामित्व लिन संस्थापन पक्ष तयार देखिएको छ।

डा. महतले महामन्त्रीहरूले उठाएका जायज र आवश्यक विषयहरू तथा अन्य साथीहरूले उठाएका साझा विषयहरूलाई केन्द्रीय समितिमा छलफल गरी स्वामित्व लिन सकिने बताए।

‘कुन कुरा पार्टीले निर्णय गर्ने र कुन नगर्ने भन्ने कुरा केन्द्रीय समितिले समग्र साथीहरूको भावना बुझेर टुंगो लगाउँछ’, महतले भने।

राजीनामा र आगामी चुनावबारे बोलेनन् देउवा
महामन्त्रीहरूले सभापतिलाई तत्काल मार्ग प्रशस्त (राजीनामा) गर्न र आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्न प्रस्ताव राखेको विषयमा भने प्रवक्ता महतले अस्वीकार गरे।

उनले भने, ‘तपाईंले भनेजस्तो ठ्याक्कै राजीनामा दिने वा चुनाव नलड्ने भन्ने कुरा भएको छैन। तर, महामन्त्रीजीहरूले आफ्ना कुराहरू राख्नुभयो होला।’

भागबन्डाको विषयमा (६०-४०) पनि छलफल भएको संकेत गर्दै महतले महामन्त्रीहरूले ‘साथीहरूसँग सल्लाह गरेर एउटा निष्कर्षसहित आउँछौं’ भनेर गएको जानकारी दिए।

पुष ३०, २०८२ बुधबार १०:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।