देउवासँगको बैठकमा महामन्त्रीद्वयले भने- ‘अब तपाईं निष्क्रिय हुनुस्’, सानेपामा ८ बजे बोलाइएको बैठक अझै बस्न सकेन
काठमाडौं : नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीच भएको निर्णायक मानिएको वार्ता निष्कर्षविहीन टुंगिएको छ।
शीर्ष नेताहरू वार्तामै अल्झिँदा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकसमेत अन्योलमा परेको छ।
पार्टीभित्रको संकट टार्न सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहान महाराजगन्जस्थित निवासमा छलफलका लागि बोलाएका थिए। तर, करिब ४५ मिनेट चलेको उक्त भेटमा कुनै ठोस सहमति नजुटेको हो।
भेटका क्रममा महामन्त्रीद्वयले सभापति देउवालाई नेतृत्वबाट अलग भई निष्क्रिय रहन आग्रह गरेका थिए।
उनीहरूले भने, ‘२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा जसरी आउनुभएको थियो, यसबाट तपाईंको सम्मान बढेकै थियो। फेरि किन सक्रिय हुनुभयो? यसले सम्मान बढाउँदैन। अब तपाईं निष्क्रिय हुनुस्।’
यसका अलावा सभापति देउवाले आफू निर्वाचनमा टिकट बाँड्ने पत्रमा हस्ताक्षर गर्न रुचि नराख्ने भनेको देउवानिकट नेता रमेश लेखकले बताए।
सभापति देउवा नेतृत्व छाड्न तयार नभएपछि वार्तामा कुनै ठोस निर्णय हुन सकेन। तर उनीहरू फेरि छलफलमा जुट्ने भएका छन्।
वार्ता निष्कर्षविहीन भएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर विशेष महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा लागेका छन्।
सानेपा पुगे नेता, बैठक सुरु भएन
शीर्ष नेताहरू महाराजगन्जमा वार्तामा बस्दा सानेपामा केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरू पुग्ने क्रम जारी छ। तर, नेतृत्व तह वार्तामै रहेका कारण बैठक सुरु हुन सकेको छैन। संस्थापन पक्षले हिजो बस्ने भनिएको बैठक आज बिहानका लागि सारेको थियो।
वार्ताका क्रममा संस्थापन पक्ष केही लचक देखिएको थियो। विशेषगरी आसन्न प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष तयार देखिएको थियो।
देउवानिकट स्रोतका अनुसार सभापति देउवा टिकट वितरण अधिकार हस्तान्तरण गर्न सकारात्मक देखिएका थिए।
यसका साथै विशेष महाधिवेशनका दस्तावेजलाई केन्द्रीय समितिले अपनत्व लिने, २०८० फागुनको महासमिति बैठकका निर्णय लागू गर्ने र संसदीय बोर्डमार्फत न्यायोचित ढंगले टिकट वितरण गर्ने विषयमा पनि छलफल भएको थियो।
वार्तामा संस्थापन पक्षबाट बालकृष्ण खाँण, रमेश लेखक, जीवन परियार, मिनेन्द्र रिजाललगायतका नेताहरूको पनि सहभागिता थियो।
केन्द्रीय कार्यसमितिको बहुमतले १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ।
पुष ३०, २०८२ बुधबार १०:११:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।