पाकिस्तानी मूलका ४ अमेरिकी क्रिकेटरलाई भारतले दिएन भिसा, अन्य छ देश पनि प्रभावित हुने
एजेन्सी : अर्को महिना भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकप क्रिकेटअघि खेलाडीहरूको भिसा प्रक्रियामा जटिलता देखिएको छ।
अमेरिकाको राष्ट्रिय टोलीमा पर्न सक्ने सम्भावना रहेका पाकिस्तानी मूलका चार क्रिकेटरलाई भारतले प्रवेश भिसा दिन अस्वीकार गरेको समाचार बाहिरिएको छ।
‘टेलिकम एसिया स्पोर्ट’को रिपोर्टका अनुसार अमेरिकाका तीव्र गतिका बलर अली खानले आफूसहित अन्य तीन खेलाडीलाई भारतले भिसा दिन अस्वीकार गरेको पुष्टि गरेका छन्।
खानले एक भिडियो सन्देशमा भनेका छन्, ‘हो, यो साँचो हो कि पाकिस्तानी मूलका खेलाडीहरूलाई भारतीय भिसा अस्वीकार गरिएको छ, जसको अर्थ हामी टी-२० विश्वकपमा सहभागी हुन असमर्थ हुनेछौँ।’
को-को हुन् भिसा नपाउने खेलाडी?
अमेरिकाको २० सदस्यीय सम्भावित टोलीमा रहेका अली खानसहित सायन जहाँगिर, मोहम्मद मोहसिन र एहसान आदिलले भिसा नपाएको बताइएको छ। यी चारै जना पाकिस्तानमा जन्मिएका हुन् तर हाल अमेरिकी नागरिक हुन्।
एहसान आदिलले सन् २०१३ देखि २०१५ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट ३ टेस्ट र ६ एकदिवसीय खेल खेलिसकेका छन्। उनी चार वर्षअघि अमेरिका बसाइँ सरेका थिए। यस्तै, अली खान पाकिस्तानको अटोक, सायन कराँची र मोहसिन खैबर पख्तुनख्वामा जन्मिएका हुन्।
भारतको भिसा नियमअनुसार पाकिस्तानमा जन्मिएका जुनसुकै देशका नागरिकले भिसा आवेदन गर्दा आफ्नो जन्म देशको राहदानी वा विशेष प्रक्रिया अपनाउनुपर्ने हुन्छ। यही प्राविधिक कारणले अमेरिकी राहदानी भए पनि उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको बुझिएको छ।
यो कडा भिसा नियमको असर अमेरिकालाई मात्र नभई अन्य देशहरूलाई पनि पर्ने देखिएको छ। रिपोर्टका अनुसार यूएई, ओमान, क्यानडा, इंग्ल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्सको टोलीमा पनि पाकिस्तानी मूलका खेलाडीहरू छन्, जसलाई भारत आउन समस्या हुन सक्छ।
यसअघि पनि सन् २०२३ को विश्वकप र अन्य शृङ्खलाहरूमा अस्ट्रेलियाका उस्मान ख्वाजा तथा इंग्ल्यान्डका रेहान अहमद र शोएब बशिरजस्ता पाकिस्तानी मूलका खेलाडीहरूले भारतीय भिसा पाउन ढिलाइ वा समस्या भोगेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का स्रोतहरूले टोलीहरूलाई भिसा प्राप्त गर्न सहजीकरण गरिरहेको बताए पनि पछिल्लो घटनाले आयोजक र आईसीसीको कामको बोझ बढाएको छ।
पुष ३०, २०८२ बुधबार ०९:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।