आफ्नो अडानबाट पछि नहट्ने निर्णय सुनाउँदै बंगलादेश क्रिकेट बोर्डले भन्यो- ‘हामी भारत जाँदै जाँदैनौँ’
एजेन्सी : बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले टी-२० विश्वकप खेल्न भारत नजाने आफ्नो अडान कायमै राखेको छ।
मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भएको भिडियो कन्फरेन्समा आईसीसीले बंगलादेशलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरे पनि बीसीबीले त्यसलाई अस्वीकार गरेको हो।
दुई देशबीचको बढ्दो राजनीतिक तनाव र सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा गएर खेल्न अस्वीकार गरेको हो। बीसीबीले आफ्ना खेलहरू भारतबाट हटाएर सह-आयोजक राष्ट्र श्रीलंकामा सार्न आईसीसीसमक्ष माग गरेको छ।
यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइजी कोलकाता नाइट राइडर्सलाई राजनीतिक तनावका कारण बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट रिलिज गर्न निर्देशन दिएपछि यो विवाद थप चर्किएको थियो।
मंगलबारको बैठकमा बीसीबीका अध्यक्ष अमिनुल इस्लामसहितका उच्च पदाधिकारीहरू र आईसीसीका प्रतिनिधिबीच छलफल भएको थियो।
बैठकबारे जानकारी दिँदै बीसीबीले विज्ञप्तिमार्फत भनेको छ, ‘हामीले सुरक्षा चिन्ताका कारण भारत भ्रमण नगर्ने आफ्नो अडान पुनः स्पष्ट पारेका छौँ। साथै, हाम्रा खेलहरू भारतबाहिर सार्न आईसीसीलाई पुन: आग्रह गरेका छौँ।’
आईसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको भन्दै लचक हुन आग्रह गरे पनि बंगलादेश आफ्नो अडानबाट पछि हटेको छैन। यद्यपि, दुवै पक्षले निकासका लागि छलफल जारी राख्ने सहमति गरेका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बीसीबीका उपाध्यक्ष शाखावत हुसेनले भने, ‘हामी आफ्नो अडानबाट एक इन्च पनि पछि हट्ने छैनौँ। हामी भारत जाँदैनौँ। हामीले आफ्नो कुरा स्पष्ट राखेका छौँ र उनीहरूले विकल्प खोजिरहेका छन्।’
समय कम भए पनि वार्ताको ढोका खुला रहेको र छिट्टै सकारात्मक निकास निस्कनेमा आफूहरू आशावादी रहेको हुसेनले बताए। यसअघि बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले पनि बंगलादेश भारत जान तयार नरहेको अभिव्यक्ति दिएका थिए।
पुष ३०, २०८२ बुधबार ०९:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।