काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार बिहान चिसो महसुस गरिएको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म झरेको छ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार आज बिहान ६ बजेर २७ मिनेट जाँदा ललितपुरको सानेपामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो।

बिहानको तापक्रम ह्वात्तै घटेकाले उपत्यकावासीले जाडो महसुस गरेका छन्। मौसमविद् उपाध्यायले बिहानको समय बढ्दै जाँदा यो तापक्रम अझै केही घट्न सक्ने अनुमान गरेका छन्।

आजको दिनको आधिकारिक न्यूनतम तापक्रमको अन्तिम मापन भने बिहान ८:४५ बजे सार्वजनिक गरिनेछ।

तराईमा हुस्सु, पहाडमा आंशिक बदली
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा मौसम आंशिक बदली रहेको छ।

महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको पूर्वानुमान अनुसार, तराईका केही स्थानहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्हसम्ममा क्रमिक रूपमा हट्दै जाने सम्भावना छ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि तराईका केही स्थानमा पुनः हुस्सु लाग्ने सम्भावना छ भने कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

चिसो बढ्दै गएको र तराईमा हुस्सुका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

पुष ३०, २०८२ बुधबार ०८:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।