रिलका 'नेता' शिशिरलाई जब वास्तविक चुनाव लड्न हौस्याइन्छ... !

रिलका 'नेता' शिशिरलाई जब वास्तविक चुनाव लड्न हौस्याइन्छ... !

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय जमेका कलाकार हुन्, अभिनेता शिशिर वाङ्देल। जसरी कुनै समय खलपात्रका रूपमा सुनील थापा वा मुकुन्द थापाको उपस्थितिले फिल्ममा विशेष अर्थ राख्थ्यो, ठिक त्यसैगरी पछिल्लो समय शिशिर वाङ्देल नभएको फिल्म विरलै प्रदर्शनमा आउँछन्।

‘रेशम फिलिली’, ‘माग्ने राजा’, ‘बिहे पास’ हुँदै ‘नाङ्गो गाउँ’सम्म आइपुग्दा उनले अभिनयको फराकिलो दायरा देखाइसकेका छन्। कहिले डन त कहिले चतुर नेता। पर्दामा उनले निर्वाह गरेको राजनीतिक चरित्र यति जीवन्त हुन्छ कि उनी साँच्चिकै नेता जस्तो भान हुन्छ। हाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बिगुल’ मा पनि उनी नेताकै भूमिकामा देखिँदैछन्।

आगामी फागुन २१ गते हुने निर्वाचनको सरगर्मी बढिरहँदा धेरै कलाकारहरू समानुपातिक उम्मेदवार बन्ने दौडमा देखिए। फिल्ममा नेताको भूमिकामा जमेका शिशिर वास्तविकता राजनीतिमा आउनेबारे के सोच्छन् होला ? धेरैलाई कौतुहलता हुनसक्छ।

‘बिगुल’ फिल्मको प्रचारप्रसारका क्रममा यहि प्रश्न सोधिँदा शिशिरले एउटा रोचक तथ्य खुलाए। उनलाई अरू कसैले नभई सुटिङ सेटमा सहकर्मी र साथीभाइहरूले नै चुनाव लड्न उकास्ने गरेका रहेछन्। आफ्नो अनुभव सुनाउँदै उनले भने, "सुटिङका क्रममा प्रायः कुरा उठ्छ। मलाई साथीभाइले भन्ने गर्नुहुन्छ- तपाईं चुनाव लड्नुहोस्, पक्का जित्नुहुन्छ।"

सहकर्मीहरूले हौसला दिए पनि वा पर्दामा नेताको भूमिका रुचाइए पनि शिशिरले वास्तविक राजनीतिलाई भने ‘नो’ भनेका छन्। उनी भन्छन्, "यो (राजनीति) मेरो क्षेत्र होइन। म यसमा जान्दिनँ। म चरित्रमा नेता बनूँला, निर्वाह गरूँला तर वास्तविक जीवनमा नेता बन्दिनँ।"
 

पुष २९, २०८२ मंगलबार २२:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।