कम्बोडियाका ८० हलमा प्रदर्शन हुँदै नेपाली फिल्म ‘गुन्युचोलो’

कम्बोडियाका ८० हलमा प्रदर्शन हुँदै नेपाली फिल्म ‘गुन्युचोलो’

काठमाडौं : अभिनेता नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्युचोलो : द ड्रेस’ कम्बोडियामा प्रदर्शन हुने भएको छ। भोलीबाट कम्बोडियामा नै त्यहाँको ८० वटाभन्दा बढी हलबाट प्रदर्शनमा आउन लागेको हो।

फिल्मलाई कम्बोडियामा प्रदर्शन गर्न निर्माण टिमले कम्बोडियन भाषामा डबिङ गरेको थियो। गत भदौ १३ गते नेपालका हलमा प्रदर्शन भइसकेको यो फिल्मलाई विदेशका विभिन्न ठाउँमा प्रदर्शन गर्न लागिएको निर्देशक समुन्द्र भट्टले बताइन्।

उनले भनिन, "हामीले यस फिल्मलाई कम्बोडियन भाषामा नै डबिङ गरेर प्रदर्शन गर्न लागेका हौं। नेपाली फिल्म नै पहिलो पटक कम्बोडियाको ८० वटा हलमा बक्स अफिसमार्फत नै लाग्दै छ।"

उनले नेपाली फिल्म पहिलो पटक कम्बोडियाको हलमा प्रदर्शन हुन लागेको दाबी गरिन्। नेपाली भाषामा नै प्रदर्शन गर्दा त्यहाँका दर्शकले नबुझ्ने हुँदा कम्बोडियन भाषामा डब गर्नुपरेको निर्देशक भट्टको भनाई छ।

उनले थपिन्, "हाम्रो फिल्म, हाम्रो कथा, संस्कृति र आवाज विश्वव्यापी मञ्चमा पुग्दा यो गर्वको क्षण हो। म तपाईंहरू सबैसँग यो खुसी बाँड्न पाउँदा साँच्चै नै खुसी भएको छु।"

लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको यो फिल्ममा नाजिर हुसेनको मुख्य भूमिका छ। उनी यस फिल्ममा पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा छन्।

फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतको अभिनय रहेको छ। व्यावसायिक हिसाबले कमजोर बनेको यो फिल्म समीक्षात्मक हिसाबले बलियो मानिएको थियो। 

पुष २९, २०८२ मंगलबार २१:३७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।