विशेष महाधिवेशनको निर्वाचनसँगै केन्द्रीय समिति बैठक पनि सर्यो
काठमाडौं : पार्टीमा चर्किएको विवाद समाधान गर्न विशेष महाधिवेशनको आयोजकले निर्वाचनको कार्यतालिका बुधवार सारेपछि संस्थापन समूहले बोलाएको केन्द्रीय समितिको बैठक समेत बुधवार बिहानका लागि सरेको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका ल्याएसँगै संस्थापन समूहले मंगलबार बिहान केन्द्रीय कार्यसमितिको बैठक राखेको थियो।
यही बिचमा मङ्गलवारै सहमतिका लागि महाधिवेशन आयोजक, शेरबहादुर देउवा र शेखर कोइराला समूहले प्रतिनिधि पठाएर त्रिपक्षीय छलफल सुरु गरेपछि बन्द सत्र सक्काएर निर्वाचनको कार्यतालिका बुधवार सारियो। उता सानेपाको पार्टी कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक पनि बुधवार बिहान ८ बजेलाई सारियो।
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरहरूले सभापतिबाट शेरबहादुर देउवाको राजीनामा, टिकट दिन हस्ताक्षरको अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा केन्द्रीय सदस्य शशाङ्क कोइरालालाई दिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिएर पारित भएका प्रतिवेदनहरू स्वीकार गर्नुपर्ने र नियमित महाधिवेशनको ग्यारेन्टी हुनुपर्ने लगायतका सर्त राखेका छन्।
विशेष महाधिवेशनको स्वामित्व स्वीकार गर्न संस्थापन पक्ष राजी भए पनि राजीनामाका लागि शेरबहादुर देउवा राजी भएका छैनन्। आफूले वैशाखमा नियमित महाधिवेशनमार्फत नेतृत्व छाड्ने पक्का भइसकेकाले दुई महिना अगाडि राजीनामा नदिने उनको अडानपछि दोस्रो चरणमा जारी वार्ता केही समयका लागि स्थगित भएको थियो।
पुष २९, २०८२ मंगलबार २०:१५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।