बन्द सत्रको समापनमा गगनले भने "यो विद्रोह हो, महाधिवेशनको हल बाहिर कुनै सहमति हुन्न"
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको बन्द सत्रको हलबाहिर कुनै सहमति नहुने बताए। उनले अहिले छलफल जारी रहेको तर सहमति विशेष महाधिवेशनको हलले अनुमोदन नगरी केही पनि नहुने बताए।
उनले विशेष महाधिवेशन भइरहँदा बाहिर कहिले टिकटका लागि हो भनेर हल्ला चलाइएको त कहिले भागबन्डाका लागि हो भनेर हल्ला चलाएर महाधिवेशनको मान मर्दन गरेको बताए।
उनले विशेष महाधिवेशनको आयोजना पार्टीको नेता र नीति दुवै बदल्न आयोजना भएको भन्दै आफू अनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा दुबैलाई पार्टी सभापतिको पद नचाहिएको दाबी गरे।
"पार्टी सभापति न विश्वप्रकाशलाई चाहिएको छ न गगनलाई। जसले नेतृत्व गरे पनि हुन्छ। परे चुनाव लड्न पनि तयार छौँ, चुनाव नलड्न पनि तयार छौँ।"
उनले महाधिवेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको भन्दै निर्वाचन प्रक्रिया त्यही अनुसार अगाडि जाने बताए। उनले पार्टीको नेतृत्वले सम्हाल्ने हो र चुनाव हाँक्ने हो भने विशेष महाधिवेशनको नीति अनुसार नयाँ नेतृत्वसहित अगाडि बढ्नु पर्ने र नियमित महाधिवेशनबाट विधान संशोधनसहितका नीति लिएर अगाडि बढ्न तयार हुनुपर्ने बताए।
"यो विद्रोह हो" उनले विशेष महाधिवेशनको बन्द सत्रको समापन गर्दै भने।
पुष २९, २०८२ मंगलबार १९:०७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।