त्रिपक्षीय छलफल निष्कर्षमा नपुग्दा मतदान सार्ने तयारी, केन्द्रीय समितिको बैठक पनि भएन
काठमाडौँ : राती मतदान गराउन गाह्रो हुने भन्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन समितिले बुधवार मतदान गराउने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले मंगलबार साढे ७ बजेसम्म मनोनयन पत्रको प्रक्रिया पूरा गरेर मतदान बुधवार गराउने तयारी भएको बताए।
राती मतदान गराउन गाह्रो हुने भनिए पनि मुख्य कारण भने महाधिवेशन आयोजकका प्रतिनिधि र पार्टीको संस्थापन र शेखर कोइराला पक्षबीच भइरहेको छलफल मुख्य कारण देखिन्छ। निर्वाचन प्रक्रियामा जाँदा पार्टी विभाजित हुने भन्दै अहिले विशेष महाधिवेशन आयोजक, संस्थापन समूह शेरबहादुर देउवा र संस्थापनइतर शेखर कोइराला समूहबीच छलफल चलिरहेको छ।
यता त्रिपक्षीय छलफल जारी रहँदा सानेपामा बस्न लागेको केन्द्रीय समितिको बैठक समेत बसेको छैन। विशेष महाधिवेशनस्थलमा समेत निर्वाचन प्रक्रिया लम्बिएको छ। छलफलमा रहेको विशेष महाधिवेशनको प्रतिनिधिहरूले सभापति पदबाट देउवाको राजीनामा, हस्ताक्षरको अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा नेता शशाङ्क कोइरालालाई दिनु पर्ने र विशेष महाधिवेशनलाई वैधानिक रूपमा स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका छन्।
तर वैशाखमा हुने नियमित महाधिवेशनबाट आफू नेतृत्व छाड्न राजी भइसकेकाले दुई महिना अगाडि राजीनामा दिनुको अर्थ नभएको भन्दै देउवाले अस्वीकार गरे पनि छलफलमा रहेको तीनै टोलीको सहमतिमा बाधक नबन्ने सन्देश पठाएको एक नेताले जानकारी दिए।
आयोजकले आइतबार र सोमबार मात्रै विशेष महाधिवेशनको कार्यतालिका बनाएको थियो। सोमबार बन्द सत्रको छलफल नसिकिएको भन्दै थप एक दिन लम्ब्याएर मंगलबार पूर्याएको थियो। अब निर्वाचन प्रक्रियाका लागि भन्दै थप एक दिन बढाएर चार दिन पूर्याउने तयारी भएको छ।
१३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यको निर्वाचन गर्न निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेर मनोनयनका लागि पत्र समेत वितरण गरिसकेको छ। निर्वाचनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन्।
पुष २९, २०८२ मंगलबार १८:१४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।