कांग्रेस विशेष महाधिवेशनमा निर्वाचनको रौनक, सभापतीमा उम्मेदवार दिन तीनजनाले लगे फारम
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनको प्रक्रियामा प्रवेश गरेर उम्मेदवारीका लागि फारम वितरणको क्रम सुरु भइसकेको छ। भृकुटीमण्डपमा निर्वाचन समितिले पार्टी सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारीको शुल्क तोक्दै फारम वितरण गरिरहेका छन्।
निर्वाचन समितिले बनाएको फारमकै सकिँदा उम्मेदवारका केही आकाङ्क्षीहरू फारम कुरेर बसेका छन्। निर्वाचन समितिका अनुसार सभापतिका लागि अहिलेसम्म तीनवटा फारम गइसकेको छ। तर ती फारम कसका लागि लगिएको हो खुलेको छैन। कांग्रेसका सभापतिका लागि देउवा समूहबाट पूर्णबहादुर खड्का, शेखर समूहबाट शेखर कोइराला र गगन थापा आकांक्षी छन्। तर विशेष महाधिवेशनमा देउवा र शेखर सहभागी छैनन्।
केही नेताहरू भने धेरै उम्मेदवार हुने भए भन्दै सर्वसम्मत गर्ने प्रयासमा जुटेका छन्। नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले उम्मेदवारका आकाङ्क्षीहरू धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने बताए।
यता विशेष महाधिवेशनस्थलमा उम्मेदवारी दिनेहरूको संख्या बढ्दा शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरू भने विशेष महाधिवेशनमा निर्वाचन रोक्ने प्रयासमा लागेका छन्। विशेष महाधिवेशनै रोक्न लागेका उनीहरू असफल भएपछि अब सकेसम्म निर्वाचन भएर नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया रोकेर सहमतिको प्रयासमा लागेका छन्।
यस्तो छ निर्वाचन कार्यतालिका
सार्वजनिक कार्यतालिका अनुसार आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ।
यस्तै, साँझ ५:३० देखि ७:३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ भने राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
समितिका अनुसार राति ९:०० बजेदेखि भोलि (पुस ३० गते) बिहान १:०० बजेसम्म भृकुटीमण्डपमा मतदान हुनेछ। मतदान समाप्त भए लगत्तै मतगणना सुरु गरी परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पार्टीका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बहुमत प्रतिनिधिहरूको उपस्थितिका बीच विशेष महाधिवेशनले पार्टीको विधान २०१७, नियमावली २०७६ र विशेष महाधिवेशन कार्यविधि २०८२ अनुसार नेतृत्व परिवर्तनको प्रक्रिया थालेको हो।
यसअघि सहमतिका लागि भएका विभिन्न चरणका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधिहरूको दबाबस्वरूप निर्वाचन प्रक्रिया सुरु गरिएको नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको छ।
वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने मनोनयन दस्तुर सार्वजनिक गरेको हो।
सभापतिको उम्मेदवारको शुल्क ३० हजार
सार्वजनिक शुल्क विवरण अनुसार सभापति पदमा उम्मेदवारी दिन चाहनेले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ। यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। सह-महामन्त्री पदका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।
यो शुल्क ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ बमोजिम निर्धारण गरिएको समितिले जनाएको छ। आजै दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।
पुष २९, २०८२ मंगलबार १६:०६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।