कांग्रेसको आन्तरिक विवाद सुल्झाउन तीनै पक्ष वार्तामा

कांग्रेसको आन्तरिक विवाद सुल्झाउन तीनै पक्ष वार्तामा

काठमाडौं : आन्तरिक विवाद समाधानका लागि नेपाली कांग्रेसको संस्थापन, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता सुरु भएको छ। मंगलबार बिहान लाजिम्पाटमा भएको पहिलो चरणको सकारात्मक संवादपछि दिउँसो ३ बजेदेखि दोस्रो चरणको वार्ता सुरु भएको हो।

पार्टीभित्र बढ्दै गएको ध्रुवीकरणलाई रोक्न र साझा मिलनबिन्दु पहिल्याउन तीनै पक्षका नेताहरू सक्रिय भएका छन्। मंगलबार बिहान भएको पहिलो चरणको छलफलमा नेताहरूले आ-आफ्नो अडान राखेका थिए। विवाद मिलाउने जिम्मा पाएको वार्ता टोलीमा संस्थापन पक्षबाट बालकृष्ण खाँण र रमेश लेखक सहभागी छन्। डा. शेखर कोइराला समूहबाट सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजालले प्रतिनिधित्व गरिरहेका छन्।

यस्तै, विशेष महाधिवेशनको नेतृत्व गरिरहेको पक्षबाट महामन्त्रीद्वयको समेत समर्थनमा नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा जुटेका हुन्। दोस्रो चरणको वार्तामा संस्थापन पक्षका रमेश लेखक भने केही ढिला गरी सामेल हुने बताइएको छ।

विशेष महाधिवेशन पक्षधरले वार्ताका क्रममा मुख्यगरी तीन वटा सर्त अघि सारेका छन्। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको अपनत्व र स्वामित्व पार्टीले लिनुपर्ने. आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने 'नीतिगत' प्रतिबद्धता जनाउनुपर्ने, आगामी निर्वाचनमा उम्मेदवारलाई दिइने टिकटमा सभापति शेरबहादुर देउवाको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्ने सुनिश्चितता हुनुपर्ने सर्त राखेको छ। 

संस्थापन पक्षले भने पार्टीको कार्यसम्पादन समितिले दुई पटकसम्म विशेष महाधिवेशनलाई 'औचित्यहीन' भनिसकेको अवस्थामा तत्काल ती निर्णय उल्ट्याउन कठिन हुने संकेत गरेको छ। यद्यपि, तोकिएकै मितिमा नियमित महाधिवेशन गर्ने र वार्तामार्फत अन्य असन्तुष्टि सम्बोधन गर्न सभापति देउवा लचिलो देखिएका छन्।

यता पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचनको प्रक्रिया अगाडि बढाइरहेको छ।  

पुष २९, २०८२ मंगलबार १५:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।