कांग्रेस वार्तामा महाधिवेशन पक्षधरको मुख्य शर्त : देउवाले सत्ता र शक्ति त्याग्नुपर्ने, फागुन २१ मा उम्मेदवार बन्न नपाइने
काठमाडौं : नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधानका लागि बसेको पहिलो चरणको वार्तामा विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवा पूर्ण रूपमा निष्क्रिय हुनुपर्ने कडा शर्त अघि सारेका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच बालुवाटारमा जारी वार्तामा संस्थापनइतर समूहले देउवाले अबको निकासका लागि मार्गप्रशस्त गर्नुपर्ने बटमलाइन प्रस्तुत गरेको स्रोतले जानकारी दियो।
‘वार्ताका सभापति देउवाले पार्टीका सबै कार्यकारी अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नुपर्ने र यसका लागि आधिकारिक उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकारसहितको सम्पूर्ण जिम्मेवारी खड्कालाई लिखित रूपमै दिनुपर्ने उल्लेख छ’, स्रोतले भन्यो।
यस्तै आगामी फागुन २१ गते हुने भनिएको संसदीय दलको निर्वाचनमा देउवा उम्मेदवार बन्न नपाउने शर्त पनि अघि सारिएको छ।
यसका अलावा पार्टीको आगामी नियमित महाधिवेशन गराउने सम्पूर्ण जिम्मेवारी पूर्णबहादुर खड्काले लिनुपर्ने, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई पार्टीको आधिकारिक महाधिवेशनको रूपमा संस्थापन पक्षले पूर्ण स्वामित्व लिनुपर्ने र विशेष महाधिवेशनबाट पारित हुने सबै नीति तथा कार्यक्रमहरूलाई अक्षरसः कार्यान्वयन गर्नुपर्ने शर्तहरू रहेका छन्।
विशेष महाधिवेशन पक्षधरले देउवाको बहिर्गमनलाई नै पार्टी एकताको मुख्य आधार बनाएका छन्। उनीहरूले देउवा अब ‘अभिभावक’को भूमिकामा मात्र बस्नुपर्ने र कार्यकारी भूमिकाबाट बिदा लिनुपर्ने स्पष्ट अडान राखेका छन्।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य लगायत सहभागी छन् भने संस्थापनबाट पूर्णबहादुर खड्का, रमेश लेखक लगायतका नेताहरू छन्। यो शर्तमा संस्थापन पक्ष कति लचिलो हुन्छ, त्यसैमा कांग्रेसको आगामी बाटो तय हुने देखिन्छ।
पुष २९, २०८२ मंगलबार १२:५१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।