भेनेजुएलाका विपक्षीको माग : राजनीतिक बन्दी रिहाइको प्रक्रिया छिटो गर
एजेन्सी : भेनेजुएलाका विपक्षी समूहहरूले सरकारसँग राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रियालाई तीव्रता दिन अपील गरेका छन्।
सरकारी अधिकारीहरूका अनुसार, अमेरिकाको दबाबपछि गत हप्तादेखि सुरु भएको रिहाइ प्रक्रियाअन्तर्गत हालसम्म ११६ जना बन्दीहरूलाई रिहा गरिएको छ।
तर, विपक्षीहरूले भने सरकारको दाबीलाई अस्वीकार गर्दै अहिलेसम्म केवल ६५ जनालाई मात्र रिहा गरिएको बताएका छन्।
अझै पनि सयौँ मानिसहरू हिरासतमा रहेका छन् र उनीहरूका परिवारका सदस्यहरू आफ्ना मान्छेको खबर बुझ्न जेल बाहिर पर्खिरहेका छन्।
यसैबीच, सोमबार भेनेजुएलाकी विपक्षी तथा निर्वासित नेतृ मारिया कोरिना मचादोले भ्याटिकनमा पोप लियोसँग भेट गरेकी छिन्।

उनले पोपसँग यस मामिलामा हस्तक्षेप गर्न र राजनीतिक बन्दीहरूको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन्।
भेनेजुएलामा अमेरिकाको कारबाहीपछि देशको राजनीतिक परिदृश्य फेरिएको छ। हाल उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेकी छिन्।
पुष २९, २०८२ मंगलबार १२:०९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।