कांग्रेस विवाद निर्णायक मोडमा : बन्दसत्रमा नीति र नेतृत्वको बहस जारी, नेताहरू त्रिपक्षीय वार्तामा पनि

कांग्रेस विवाद निर्णायक मोडमा : बन्दसत्रमा नीति र नेतृत्वको बहस जारी, नेताहरू त्रिपक्षीय वार्तामा पनि
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधानका लागि समानान्तर गतिविधिहरू भइरहेका छन्।

एकातिर भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको बन्दसत्र जारी छ भने अर्कोतिर बालुवाटारमा दुवै पक्षबीच निर्णायक वार्ता चलिरहेको छ।

आइतबार उद्घाटन भएको विशेष महाधिवेशनको तेस्रो दिन मंगलबार दोस्रो दिनको बन्दसत्र सुरू भएको छ।

बन्दसत्रमा महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल पनि सोमबार नै सकिइसकेको अवस्थामा नीतिगत निर्णयहरू पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

यसैक्रममा, विशेष महाधिवेशनले डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा ५ सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको छ।

यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा बनाएको निर्वाचन समितिलाई भंग गर्दै केसीको नेतृत्वमा नयाँ समिति बनाइएको हो। समितिका सदस्यहरूमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन्।

नेता पौडेलको सन्देश : एकताबद्ध र सबल कांग्रेस
वार्ता टोलीका सदस्य एवं नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई विभाजन नभई अझ एकताबद्ध बनाउने दाबी गरेका छन्।

वार्ता जारी रहेकै बेला सामाजिक सञ्जाल एक्समार्फत उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ। हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौँ।’

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आए पनि विशेष महाधिवेशन पक्षधरहरूले भने यो पार्टी विधानसम्मत रहेको र यसले स्पष्ट परिवर्तनकारी नीति तथा नेतृत्व स्थापित गर्ने अडान राखेका छन्।

बालुवाटारमा निर्णायक वार्ता
विवाद उत्कर्षमा पुगेपछि निकास खोज्न दुवै पक्षका शीर्ष नेताहरूबीच लाजिम्पाटमा वार्ता जारी छ। वार्तामा विशेष महाधिवेशन पक्षधर, संस्थापन पक्ष र शेखर कोइराला पक्षका प्रतिनिधिहरू सहभागी छन्।

वार्ता टोलीमा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे छन्। यस्तै, संस्थापन (सभापति देउवा) पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट डा. मिनेन्द्र रिजाल र जीवन परियार सहभागी छन्।

संस्थापन पक्षले जारी महाधिवेशनलाई मान्यता नदिने र तत्काल रोक्नुपर्ने अडान राखेको छ भने महाधिवेशन पक्षधरले बहुमत प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै यसैबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन्।

वार्ताकै कारण मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजेका लागि सारिएको छ।

पुष २९, २०८२ मंगलबार १०:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।