सिन्धुलीमा ८० वर्षीय वृद्ध प्रतिक्षालयमा मृत फेला
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा एक ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्।
मध्यपहाडी लोकमार्गको किनारामा रहेको प्रतिक्षालयमा मंगलबार बिहान डम्मर बहादुर श्रेष्ठ मृत फेला परेका हुन्।
रामेछाप नगरपालिका-७ घर भएका श्रेष्ठ लामो समयदेखि गोलन्जोर-३ ग्वालटारमा वडाले बनाइदिएको दुई कोठे भवनमा बस्दै आएका थिए।
वडाध्यक्ष कृष्ण प्रसाद पोख्रेलले मंगलबार बिहान सवा ८ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी ग्वालटार र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल पुगेको थियो। मृतक श्रेष्ठको श्रीमती र छोराछोरी कोही नभएको बताइएको छ।
घटनाको जानकारी पाएपछि मृतकका आफन्त (दाजुकी छोरी र ज्वाइँ) सम्पर्कमा आएका थिए। प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको थियो।
मंगलबार दिउँसो पोस्टमार्टम सकिएपछि मृतकका ज्वाइँ दिलबहादुर हायुले शव बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुष २९, २०८२ मंगलबार १०:१३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।