चितवनमा टिकटक बनाउँदा बनाउँदै ढलेकी २२ वर्षीया युवतीको मृत्यु

चितवनमा टिकटक बनाउँदा बनाउँदै ढलेकी २२ वर्षीया युवतीको मृत्यु

चितवन : चितवनको भरतपुरमा टिकटक बनाउने क्रममा अचानक बेहोस भएर ढलेकी एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२६ मेघौली घर भई हाल भरतपुर-१५ मंगलपुरस्थित माइतमा रहेकी २२ वर्षीया पार्वती सुवेदी छिन्।

प्रहरीका अनुसार सुवेदी मंगलबार दिउँसो करिब २ बजे माइती घर अगाडिको बाटोमा टिकटक बनाइरहेकी थिइन्। सोही क्रममा उनी अचानक ढलेकी थिइन्।

उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चेकजाँचका क्रममा चिकित्सकले दिउँसो साढे २ बजे उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय फूलबारीले जनाएको छ।

सुवेदी अघिल्लो दिन पुस २७ गते मात्रै माइत आएकी थिइन्। उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी नायब निरीक्षक लालबहादुर गुरुङको नेतृत्वमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।

पुष २९, २०८२ मंगलबार १०:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।