कांग्रेस विवाद : लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरू, केन्द्रीय कार्यसमिति बैठक १ बजेसम्मका लागि सर्यो
काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन प्रयास भइरहँदा मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचना अनुसार बिहान ११ बजे सानेपामा बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको छ।
बैठकको समय परिवर्तन हुनुमा नेताहरूबीच चलिरहेको दौडधुप र वार्तालाई मुख्य कारण मानिएको छ।
मुख्यसचिव पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूलाई दिउँसो १ बजे उपस्थितिका लागि अनुरोध गरेका छन्।
लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरू
यसैबीच, पार्टीभित्र चर्किएको विवाद समाधानका लागि लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरू भएको छ। विशेष महाधिवेशन पक्षधर, संस्थापन पक्ष र नेता शेखर कोइराला पक्षका नेताहरूबीच लाजिम्पाटस्थित एक नेताको निवासमा वार्ता भइरहेको हो।
वार्तामा विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य, देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण तथा शेखर कोइराला पक्षबाट डा. मिनेन्द्र रिजाल र जीवन परियार रहेका छन्।
हिजो मात्रै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आफ्नो बटमलाइन सुनाएका थिए।
संस्थापन पक्षले महामन्त्रीहरूको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई विधानविपरित ठहर गरेको छ भने महाधिवेशन पक्षधरले बहुमत प्रतिनिधिहरूको उपस्थिति रहेको दाबी गर्दै नीति र नेतृत्व परिवर्तनको वकालत गरिरहेका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र र सानेपामा बस्ने केन्द्रीय समितिको बैठकबीच तालमेल मिलाउन र पार्टी एकता कायम गर्न यो वार्ता निर्णायक मानिएको छ।
वार्ता सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षासहित केन्द्रीय समितिको बैठक दुई घण्टा पछाडि सारिएको हो।
पुष २९, २०८२ मंगलबार ०९:५०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।