‘परिवर्तन’ ट्रेलर समीक्षा : ‘एक्सन’को नाममा हिंसाको अतिरञ्जना, करिश्माको सुधारिएको एक्टिङ

‘परिवर्तन’ ट्रेलर समीक्षा : ‘एक्सन’को नाममा हिंसाको अतिरञ्जना, करिश्माको सुधारिएको एक्टिङ

काठमाडौं : नेपाली एक्सन फिल्महरू प्रायः दुईवटा आरोपबाट मुक्त हुन सकेका छैनन्- पहिलो, साउथ इन्डियन फिल्मको अन्धानुकरण र दोस्रो, सन्दर्भ बिनाको काटमार।

आगामी माघ ९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को सोमबार सार्वजनिक ट्रेलरले पनि दर्शकलाई यस्तै झल्को दिन्छ। करिब ३ मिनेट लामो ट्रेलर हेर्दा लाग्छ- निर्देशकले कथा भन्नभन्दा पनि हिंसा देखाउन बढी कसरत गरेका छन्।

ट्रेलरले फिल्मको मूल द्वन्द्वलाई स्पष्ट पारेको छ। कथा पुरानै ढर्राको ‘सत्ता र शक्ति’ बीचको लडाइँमा केन्द्रित छ।

नेताको भूमिकामा देखिएका हेमन्त बुढाथोकीले ‘रगतको खोला बगोस् या देश नै जलोस्, मलाई फरक पर्दैन, मलाई चाहिएको एउटै कुरा हो- सत्ता’ भन्ने संवादबाट आफ्नो चरित्र प्रष्ट्याएका छन्। यो अत्याचार विरुद्ध उभिएका छन्- पारस अर्थात सुशील श्रेष्ठ।

आमाको भूमिकामा रहेकी करिश्मा मानन्धरले छोरालाई दिएको आँट र त्यसपछि सुशीलको ‘एन्ग्री योङ म्यान’ अवतार नै ट्रेलरको मुख्य सार हो। गाउँले भूमिकाबाट चर्चा कमाएकी अञ्जना बराईली यसपटक प्रहरी इन्स्पेक्टरको बर्दीमा देखिएकी छिन्।

चकलेटी हिरोको छवि बनाएका सुशील श्रेष्ठ ले ‘होस्टेल रिटर्न्स’ देखिको यात्रालाई यहाँसम्म ल्याइपुर्याउँदा आफूलाई ‘एक्सन स्टार’ का रूपमा स्थापित गर्न निकै मिहिनेत गरेको देखिन्छ। उनको शारीरिक बनावट र ‘लुक्स’ एक्सनका लागि सुहाउँदो छ, तर संवाद र हाउभाउमा अझै परिपक्वताको खाँचो प्रष्टै महसुस हुन्छ।

विशेष चर्चा गर्नुपर्ने पक्ष करिश्मा मानन्धर को अभिनय हो। अघिल्लो फिल्म ‘बगान’ मा निकै कृत्रिम देखिएको उनको अभिनय, यस ट्रेलरमा भने सुधारिएको र सन्तुलित देखिन्छ। एक आमाको आक्रोश र पीडालाई उनले राम्रोसँग व्यक्त गरेकी छिन्। खलपात्रका रूपमा हेमन्त बुढाथोकी र सुवास मेचेको उपस्थिति स्वभाविक लाग्छन्।

नेपाली फिल्ममा विरलै देखिने भीएफएक्स र एक्सनको संयोजन ट्रेलरमा देख्न सकिन्छ। निर्माण पक्षले एक्सनमा राम्रै लगानी र मेहनत गरेको झल्किन्छ। एक्सन दृश्यहरूमा बज्ने पार्श्व संगीत अर्थात ब्याकग्राउण्ड स्कोरले दृश्यलाई थप बलियो बनाएको छ।

शिव ढकालको छायांकन औसतभन्दा माथि छ। यसका अलावा अञ्जना बराईली र सुशीलको गेटअपले दर्शकलाई केही नयाँपन दिन सक्छ।

उता ‘एक्सन जनरा’ भन्दैमा मान्छेलाई मुला काटे झैँ काटेको र रगतको मात्र देखिन्छ। यसले कथाको ‘इमोसनल’ पाटो ओझेलमा परेको छ। ट्रेलर हेर्दा ‘निर्देशकको फिल्म’ भन्दा पनि ‘द्वन्द्व निर्देशकको फिल्म’ जस्तो देखिन्छ। विजय केरुङले कथाको भावना बुझाउनुको साटो एक्सनको थुप्रो मात्र लगाएका हुन् कि भन्ने भान हुन्छ।

झन्डै तीन मिनेट लामो ट्रेलरमा फिल्मको चर्चित गीत ‘पाकेको चिउरी’ वा अन्य कुनै मेलोडी समावेश नगरिँदा दर्शकलाई अलिकति खल्लो महसुस हुन्छ।

समग्रमा, ‘परिवर्तन’ को ट्रेलरले एक्सन प्रेमी दर्शकलाई हलसम्म तान्न सक्ने मसला पस्केको छ। सुशील श्रेष्ठको करियरका लागि यो फिल्म कोसेढुङ्गा बन्न सक्छ।

तर, साउथ इन्डियन फिल्मको ह्याङओभरबाट मुक्त भएर मौलिक कथा खोज्ने दर्शकका लागि भने यो ‘पुरानै रक्सी, नयाँ बोतल’ हुन सक्छ। फिल्म कस्तो बनेको छ, त्यो त माघ ९ गते नै थाहा हुनेछ, तर ट्रेलरले भने ‘अति हिंसा’ को संकेत गरेको छ।

पुष २९, २०८२ मंगलबार ०९:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।