इरानको विरोध प्रदर्शनमा प्रहरीको गोलीले मारिएकी रुबिनाको डिजिटल जीवन
एजेन्सी : तेहरानमा फेसन डिजाइन पढ्दै गरेकी रुबिना अमिनियनको सपना ठूलो थियो। उनी कपडामा नयाँ-नयाँ बुट्टा भर्न र रङ्गीन दुनियाँमा रमाउन चाहन्थिन्।
तर, जनवरी ८ को त्यो रात उनका लागि काल बनेर आयो। ‘स्वतन्त्रता’ माग्दै सडकमा निस्किएकी रुबिनालाई सुरक्षाकर्मीको गोलीले सधैँका लागि सिध्याइदियो।
उनको इन्स्टाग्राम प्रोफाइल हेर्दा जो कोहीको मन रुन्छ। त्यहाँ उनले आफ्नो परिचयमा लेखेकी थिइन्- ‘होप फर द फ्युचर’ अर्थात भविष्यको आशा। तर, त्यो भविष्य अब कहिल्यै आउने छैन।
रुबिनाको इन्स्टाग्राम कुनै साधारण प्रोफाइल थिएन, त्यो उनको कलाको घर थियो। उनी आफूलाई फेसन डिजाइनर भन्थिन्। उनले बनाएका कपडाहरूमा आजका युवतीहरूको चाहना झल्कन्थ्यो।
एउटा भिडियोमा उनी सेतो, नीलो, रातो र कालो लुगामा देखिएकी छिन्। त्यसमा उनले एउटा मन छुने गीत राखेकी थिइन्, जसमा भनिएको थियो- ‘कालो लुगामा तिमीलाई कसरी हेरुँ, मेरी प्रिय?’ नसोचेको कुरा भयो, आखिर उनी बिहानी नहुँदै अस्ताइन्।
रुबिना कुर्दिस समुदायकी थिइन्। तर उनलाई इरानको अर्को ठाउँको ‘बलुची’कला साह्रै मन पर्थ्यो। उनले लेखेकी थिइन्, ‘म कुर्दिस हुँ तर मलाई बलुची कामसँग प्रेम छ।’ उनी जात र ठाउँभन्दा माथि उठेर कलालाई माया गर्थिन्।
उनी आफ्नो अधिकार र स्वतन्त्रताका लागि सडकमा थिइन्। रिपोर्टहरूका अनुसार उनलाई नजिकैबाट पछाडि पट्टि गोली हानिएको थियो।
दु:खद् कुरा त के भने, मरेपछि पनि उनको परिवारले शान्ति पाएनन्। मानव अधिकार संस्था ‘हेन्गाउ’का अनुसार प्रहरीले सुरुमा उनको शव आमाबुवालाई दिनै मानेन। पछि शव त दियो, तर उनीहरूको घरभन्दा धेरै टाढाको गाउँमा लगेर गाड्न दबाब दियो।
रुबिनाको परिवारले आफ्नै छोरीको लागि राम्रोसँग रुन र शोक मनाउन पनि पाएनन्। आफ्नै घरमा नभई आफन्तको घरमा पाहुना जसरी उनीहरूले छोरीको अन्त्येष्टि गर्नुपर्यो। इरानवायर
पुष २९, २०८२ मंगलबार ०९:०७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।