समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता, जसपा र जनमतका धेरै

समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता, जसपा र जनमतका धेरै

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीबाट ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिन समय तोकेको थियो।

आयोगले निर्धारण गरेको समयसीमाभित्र विभिन्न दलका उम्मेदवारहरूले स्वयं उपस्थित भएर वा वारेसमार्फत बन्दसूचीबाट नाम हटाएका हुन्।

नाम फिर्ता लिनेमा सबैभन्दा धेरै जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवार रहेका छन्। आयोगका अनुसार जसपाका २१ जना र जनमत पार्टीका २० जनाले नाम फिर्ता लिएका छन्।

त्यस्तै, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, र प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतका दलका उम्मेदवारले पनि बन्दसूचीबाट नाम हटाएका छन्।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै भएको एकता प्रक्रियाले गर्दा बन्दसूचीमा हेरफेर गरिएको सम्बन्धित दलले जनाएका छन्।

नयाँ समीकरणअनुसार बन्दसूची व्यवस्थापन गर्न पुराना नाम फिर्ता लिई नयाँ संरचना तयार गर्न लागिएको हो।

यसपटकको निर्वाचनका लागि समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। नेपालको संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक र १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।

आयोगका अनुसार अन्तिम नामावली प्रकाशन हुनुअघि दलहरूले बन्दसूची सच्याउने प्रक्रिया जारी राखेकाले यो सङ्ख्यामा अझै केही फेरबदल हुन सक्नेछ।

पुष २९, २०८२ मंगलबार ०८:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।