आठ वटा विश्वकपको उपाधि उचालेकी एलिसा हिलीद्वारा सन्न्यास घोषणा, भारतविरुद्धको सिरिज अन्तिम हुने
एजेन्सी : अष्ट्रेलियाली महिला क्रिकेट टोलीकी कप्तान तथा विश्व क्रिकेटकै सबैभन्दा सफल खेलाडीमध्येकी एक एलिसा हिलीले सन्न्यासको घोषणा गरेकी छिन्।
आठ पटकको विश्वकप विजेता हिलीले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारतविरुद्ध हुने घरेलु सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटका सबै फरम्याटबाट बिदा लिने निर्णय गरेकी हुन्।
सन् २०२३ को अन्त्यतिर मेग ल्यानिङपछि कप्तानको जिम्मेवारी सम्हालेकी हिलीले भारतविरुद्धको शृङ्खलामा टी-२० खेलहरू भने खेल्ने छैनन्। सन् २०२६ मै हुने टी-२० विश्वकपका लागि अष्ट्रेलियाली टोलीले नयाँ संरचना बनाउन सकोस् भनेर उनले टी-२० नखेल्ने निर्णय गरेकी हुन्।
यद्यपि, उनी एकदिवसीय खेलहरूमा भने सहभागी हुनेछिन्। उनको खेल जीवनको अन्तिम खेल मार्च ६ देखि ९ सम्म पर्थको वाका मैदानमा हुने भारतविरुद्धको डे–नाइट टेस्ट म्याच हुनेछ। यो उनको ११औं टेस्ट म्याच हुनेछ।
आफ्नो निर्णयबारे बोल्दै हिलीले भनिन्, ‘यो निर्णय लिनु मेरो लागि लामो समयदेखिको तयारी थियो। पछिल्ला केही वर्ष शारीरिकभन्दा पनि मानसिक रूपमा बढी थकाउने खालका रहे। धेरै चोटपटकहरू पनि लागे। म अझै पनि प्रतिस्पर्धा गर्न रुचाउँछु तर उमेर बढ्दै जाँदा त्यो जोस केही कम भएको महसुस भएको छ।’
उनले घरेलु मैदानमा परिवार र साथीभाइको माझमा खेल जीवन अन्त्य गर्न पाउनु आफ्नो लागि विशेष हुने बताएकी छिन्।
सन् २०१० को फेब्रुअरीमा १९ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी हिलीको करियर निकै लोभलाग्दो छ। उनले ६ वटा टी-२० विश्वकप र २ वटा एकदिवसीय विश्वकप जितेकी छन्।
एकदिवसीय क्रिकेटमा ३५ सयभन्दा बढी र टी-२० मा तीन हजार ५४ रन बनाएकी उनले टी-२० अन्तर्राष्ट्रियमा १४८ रनको अविजित पारी खेल्दै उनले कीर्तिमान बनाएकी थिइन्। साथै, टी-२० मा विकेटकिपिङमार्फत सबैभन्दा धेरै खेलाडी आउट गर्ने रेकर्ड पनि उनकै नाममा छ।
हिली सन् २०१८ र २०१९ मा ‘आईसीसी टी-२० क्रिकेटर अफ द इयर’ घोषित भएकी थिइन्।
पुष २९, २०८२ मंगलबार ०८:४७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।