इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूविरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन्।
ट्रम्पले इरानसँग कारोबार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्। ट्रम्पले सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो चेतावनी दिएका हुन्।
उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘कुनै पनि देश जसले इरानसँग व्यापार गरिरहेको छ, उसले तत्काल लागू हुने गरी अमेरिकासँग गरिने सबै व्यापारमा २५ प्रतिशत कर तिर्नुपर्नेछ। यो आदेश अन्तिम हो।’
इरानमा विगत केही दिनदेखि सरकार विरोधी प्रदर्शनहरू भइरहेको समयमा ट्रम्पको यो घोषणा आएको हो। यसअघि नै ट्रम्पले इरानको मामिलामा आफूले केही ‘धेरै बलियो विकल्प’हरूबारे विचार गरिरहेको बताइसकेका छन्।
यो निर्णयले इरानसँग व्यापार गर्ने धेरै देशहरू प्रभावित हुनेछन्। तथ्यांकअनुसार इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो।
त्यसपछि क्रमशः इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारतको स्थान आउँछ। ट्रम्पको यो निर्णयले यी देशहरूको अमेरिकासँगको व्यापारमा प्रत्यक्ष असर पर्ने देखिन्छ।
पुष २९, २०८२ मंगलबार ०७:५३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।