कांग्रेस विवाद उत्कर्षमा : सानेपामा केन्द्रीय समिति बस्दै, भृकुटीमण्डपमा 'विशेष महाधिवेशन' जारी
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा गहन छलफल हुने बताइएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
यता, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको ‘विशेष महाधिवेशन’ काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
पुस २७ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आज (मंगलबार) पनि चल्नेछ। उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने दाबी असन्तुष्ट पक्षले गरेको छ।
संस्थापन पक्षको ठहर : महाधिवेशन विधानविपरित
अर्कोतर्फ, संस्थापन पक्षले जारी विशेष महाधिवेशनलाई पार्टी विधानविपरित भएको ठहर गरेको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षीय नेताहरूको बैठकले महामन्त्रीहरूले आह्वान गरेको महाधिवेशन अवैधानिक भएको निष्कर्ष निकालेको हो।
संस्थापनको विरोधका बाबजुद महामन्त्रीद्वयको अगुवाइमा भेला निरन्तर चलिरहेको छ।
वार्ता टोली गठन
नेतृत्वको रस्साकस्सी चलिरहँदा निकास खोज्न दुवै पक्षले वार्ता समिति गठन गरेका छन्।
विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ता गर्न प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसे सम्मिलित ४ सदस्यीय वार्ता समिति गठन गरेको छ।
त्यस्तै, संस्थापन पक्षले वार्ताको जिम्मा उपसभापति एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई दिएको छ।
पुष २९, २०८२ मंगलबार ०७:३८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।