विशेष महाधिवेशनबाट नेतृत्व बदल्न ५१ प्रतिशत पर्याप्त, मंगलबार निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी

विशेष महाधिवेशनबाट नेतृत्व बदल्न ५१ प्रतिशत पर्याप्त, मंगलबार निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी

काठमाडौं : नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन आयोजकहरूले मंगलबार नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन्। मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले मंगलबार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनबारे निर्णय हुने र त्यसपछि निर्वाचन समिति गठन गरेर नयाँ नेतृत्व प्रक्रिया अगाडि बढाउने बताए।

"महामन्त्रीको प्रतिवेदनमाथि भोलि (मंगलबार)  हलले निर्णय दिन्छ। मंगलबारका लागि पनि हल बुक भएको छ। भोली निर्वाचनको प्रक्रिया थाल्छौ" उनले भने।

विशेष महाधिवेशनलाई ५१ प्रतिशत पर्याप्त

विशेष महाधिवेशनले निर्वाचनको समेत कार्यविधि पारित गरेपछि शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरहरूले सभापति हटाउन दुई तिहाइ दाबी गरिरहेका छन्। कृष्ण सिटौला र रमेश लेखकले यही दाबी गरेका थिए। तर नेपाली कांग्रेसको विधान अनुसार यो प्रावधान महाधिवेशन नभएको अवस्थामा हो। विशेष महाधिवेशन भएको अवस्थामा महाधिवेशन प्रतिनिधिको बहुमतले नयाँ नेतृत्व चयन गर्न सक्छ।

विशेष महाधिवेशन पक्षधरहरूले पनि यही तर्क गरेका छन्। पोखरेलले दुई तिहाइ चाहिने अविश्वास प्रस्तावको लागि भएको र महाधिवेशनका लागि ५१ प्रतिशत भए पुग्ने बताए।

‘हामीले सभापतिउपर अविश्वासको प्रस्ताव राखेको हैन। दुई तिहाइ अविश्वासको प्रस्तावको हकमा हो। विशेष महाधिवेशनले ५१% लाई चिन्छ" उनले भने।

उनले मंगलबार पार्टी नेतृत्व महाधिवेशनस्थल आए त्यही अनुसार अघि बढ्ने र नआए स्वाभाविक रूपमा प्रक्रिया अघि बढ्ने बताए।

पुष २८, २०८२ सोमबार १९:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।