जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपा समाहित
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीमा सोमबार दुई राजनीतिक समूह समाहित भएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष समारोहबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूह र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएका हुन्।
दुवै समूहलाई पार्टीमा भित्र्याउन नेकपा नेतृत्वले छुट्टाछुट्टै सहमति गरेको छ। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरेका थिए।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका उपाध्यक्ष समेत रहेका शिवलाल थापामगर आफ्नो टिमसहित नेकपामा प्रवेश गरेका हुन्। थापामगर समूह र नेकपाबीच एकीकरणका लागि ५ बुँदे सहमति भएको छ।
उक्त सहमतिमा समाजवाद प्राप्तिका लागि नेपालको मौलिक विशेषता र संघीय शासन प्रणालीलाई आत्मसाथ गर्ने उल्लेख छ। साथै, लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्दै वर्गीय, क्षेत्रीय, जातीय र लैङ्गिक विभेदको अन्त्य गर्ने र समतामूलक, न्यायपूर्ण एवं विभेद रहित समाज निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

यसैगरी, मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीसँग नेकपाले २ बुँदे सहमति गरेको छ। सहमति लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको ‘लिम्बुवानको मुद्दा’लाई अब नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत टुङ्गो लगाइनेछ। लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानजनक र उपयुक्त ढङ्गले नेकपामा समायोजन गरिनेछ।
पुष २८, २०८२ सोमबार १८:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।