गगनको प्रतिवेदनमा जेनजी आन्दोलनको व्याख्या : अराजक हैन विशिष्ट र ऐतिहासिक 'टर्निङ प्वाइन्ट'

गगनको प्रतिवेदनमा जेनजी आन्दोलनको व्याख्या : अराजक हैन विशिष्ट र ऐतिहासिक 'टर्निङ प्वाइन्ट'

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा २०८२ भदौ २३ र २४ गते भएको युवाहरूको आन्दोलनलाई नेपाली राजनीतिको एउटा विशिष्ट र ऐतिहासिक 'टर्निङ प्वाइन्ट' (प्रस्थानविन्दु) उल्लेख गरेको छ।

जेनजी पुस्ताले गरेको सडक विद्रोह कुनै एउटा दलको विरुद्ध मात्र नभई दशकौँदेखि जकडिएको राजनीतिक बेथिति विरुद्धको विस्फोट रहेको प्रतिवेदनमा उल्लेख छ।

विद्रोहका प्रमुख कारणहरू:

थापाको प्रस्ताव अनुसार जेनजी विद्रोह हुनुका पछाडि मुख्य तीनवटा कारण उल्लेख छ।

-कुशासन र भ्रष्टाचार: सरकारी सेवा प्रवाहमा रहेको ढिलासुस्ती, नीतिगत भ्रष्टाचार र राजनीतिक नेतृत्वको जवाफदेहिताको अभाव।

-अवसरको खोजी: स्वदेशमै रोजगारी र भविष्य सुरक्षित नदेख्दा युवाहरूमा पैदा भएको छटपटी र आक्रोश।

-परम्परागत शैलीप्रति असन्तुष्टि: पुराना राजनीतिक दलहरूको काम गर्ने शैली, आन्तरिक लोकतन्त्रको अभाव र पटक-पटक एउटै अनुहार सत्तामा दोहोरिने प्रवृत्तिको विरोध।

अराजकता हैन सुधारको माग

कांग्रेसले जेनजी विद्रोहलाई 'अराजकता' का रूपमा नहेरी 'सुधारको माग' का रूपमा स्वीकार गरेको छ। प्रस्तावमा जेनजी विद्रोहले कांग्रेसलाई पनि सच्चिन र बदलिएको समय अनुसार आफूलाई परिमार्जन गर्न दबाब दिएको उल्लेख छ।

कांग्रेसले यसलाई २००७, २०१७, २०४६ र २०६२/६३ का जनआन्दोलनहरूकै एउटा नयाँ र आधुनिक कडीका रूपमा सम्मान प्रकट गरेको छ।

प्रतिवेदनमा युवाहरूलाई केवल 'कार्यकर्ता' वा 'झन्डा बोक्ने' समूहका रूपमा मात्र प्रयोग नगरी पार्टीको केन्द्रीय समितिदेखि राज्यका नीति निर्माण गर्ने तहमा अर्थपूर्ण र निर्णायक प्रतिनिधित्व दिन प्रस्ताव गरिएको छ।

युवाहरूका प्रश्न र सामाजिक सञ्जालमा व्यक्त हुने आक्रोशलाई सुन्ने र त्यसलाई सम्बोधन गर्ने गरी पार्टीको सांगठनिक संयन्त्रलाई 'अपडेट' गर्ने, नयाँ पुस्ताको रुचि अनुसार सूचना प्रविधि, स्टार्टअप र नवीन सोचलाई प्रोत्साहन गर्ने आर्थिक तथा राजनीतिक नीतिहरू तर्जुमा गर्ने र "बदलिएको समयको कांग्रेस" बन्न युवाहरूको साथ र विश्वास अनिवार्य रहेको उल्लेख छ।

पुष २८, २०८२ सोमबार १७:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।