पहिले जस्तो आचारसंहिता उल्लङ्घनमा छुट दिँदैनौं : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताएका छन्। २०७९ सालभन्दा पहिले जस्तो आचारसंहिता उल्लङ्घनलाई छुट दिने खालको नभएको उनले बताए।
मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका लागि सोमबारदेखि सुरु भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आचारसंहितालाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिए।
राजनीतिक दलका उम्मेदवारले अरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे भन्दै दोष देखाएर आफूले नै बढी आचारसंहिता पालना नगर्ने गरेकाले यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने बताए। आयोगका आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कडा रूपमा आचारसंहिता पालना गराउने उनले सुनाए।
निर्वाचन आयोगका काँधमा निर्विकल्प रूपमा निर्वाचन गर्नुपर्ने दायित्व आएकाले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको पनि सामूहिक दायित्व भएको पनि उनले सुनाए। निर्वाचन बिथोल्ने व्यक्तिलाई छुट दिन नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ।
“निर्वाचन पर्यवेक्षकले अनेक गतिविधि गर्लान्, त्यसको अनदेखा गर्ने छुट पनि हामीलाई छैन, विगतमा पर्यवेक्षण गर्नेले उम्मेदवारका पक्षमा गतिविधि गर्न थालेपछि कारबाही गरेर पर्यवेक्षण अनुमति खारेज गरी देश निकाला गरिएको थियो, यसैले पर्यवेक्षकको पनि अनुगमन गर्नुहोला, निर्वाचन कानुन र आचारसंहिता विपरीतका काम गरे कारबाही गर्नुहोला, त्यसको जानकारी आयोगमा पनि पठाउनुहोला,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने।
कानुनको व्याख्या गलत ढङ्गले गर्ने, निर्वाचनको प्रक्रिया गलत गर्ने र कानुन उल्लङ्घन गर्नेलाई छुट दिनु नहुने उनले बताए। न्यायकर्मीले यसमा न्याय गर्नुहुन्छ भनेर नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी गराए। परेका उजुरीलाई मुख्य निर्वाचन अधिकृतले समयमै किनारा लगाउनुपर्नेमा पनि उनले जोड दिए।
भङ्ग भएको अनुशासनलाई लयमा ल्याएर शान्ति स्थापनाका लागि निर्वाचन गर्नुपर्ने भएकाले त्यो दायित्व सबैले पूरा गर्नुपर्नेमा उनले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यानाकर्षण गराए। निर्वाचन आउने विषय पेचिला हुने गरेकाले त्यसलाई हेरेर मूल्याङ्कन गरेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए। सफल रूपमा निर्वाचन गर्ने विषयलाई निष्ठा बनाउन पनि उनले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यानाकर्षण गराए।
अहिले माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको काम, प्रतिनिधिसभा समानुपातिकतर्फको बन्द सूचीबाट निर्वाचित हुने ११० र प्रत्यक्ष निर्वाचित १६५ सदस्यको काम पनि एक साथ भइरहेको आयोगले जनाएको छ। माघ २० गते समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची अन्तिम गरी नाम प्रकाशन गरिने जनाइएको छ। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले दुई दिने अभिमुखीकरण कार्यक्रममा चार समूह बनाएर छलफल गरिने जानकारी गराए। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी करिब १२० जनाको सहभागिता रहेको छ।
पुष २८, २०८२ सोमबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।