विशेष महाधिवेशनले नेतृत्व बदल्ने तयारी गरेपछि पूर्णबहादुरले जारी गरे अपिल, वैशाखमा नेतृत्व बदल्न आग्रह

विशेष महाधिवेशनले नेतृत्व बदल्ने तयारी गरेपछि पूर्णबहादुरले जारी गरे अपिल, वैशाखमा नेतृत्व बदल्न आग्रह

काठमाडौं :  भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको बेलामा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अपिल जारी गरेर पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। विशेष महाधिवेशन मागेको तीन महिनामा आयोजना गर्नुपर्ने बाध्यकारी प्रावधान छल्न शेरबहादुर देउवालाई साथ दिँदै आएका उनले अपिलमा एकताका साथ अघि बढ्न अनुरोध गरेका छन्।

आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको सोमबार बन्द सत्रले नियमित महाधिवेशन नभएसम्मका लागि नयाँ नेतृत्वको चयन गर्ने कार्यविधि पारित गरेपछि देउवा र शेखर कोइराला समूहमा हलचल मच्चिएको छ। उनीहरू बिहानैदेखि समूहगत छलफलमा बसे पनि उता भृकुटीमण्डपमा भने विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको छ।

यही बिचमा खड्काले अपिल जारी गरेर देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको बताए। उनले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

फागुन २१ मा तोकिएको निर्वाचन मार्फत संविधानलाई लिकमा ल्याएर लोकतन्त्र सुदृढ गराउनुपर्ने चुनौती रहेको भन्दै उनले आगामी वैशाखमा हुने नियमित महाधिवेशन मार्फत नीति र नेतृत्व परिवर्तन हुने उल्लेख गरेका छन्।

पुष २८, २०८२ सोमबार १५:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।