गगन थापाको राजनीतिक प्रतिवेदन : पपुलिजमबाट लोकतन्त्र खतरामा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘पपुलिजम’ (प्रियतावाद) र अराजकतावादी प्रवृत्तिको बाढीले उदार लोकतन्त्र र बहुलवादी मूल्य-मान्यतामाथि गम्भीर चुनौती थपेको बताएका छन्।
भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनले लोकतन्त्र चमत्कार नभई एक निरन्तर चलिरहने पद्धति र प्रक्रिया भएको बताए।
महामन्त्री थापाले विश्वव्यापी रूपमा देखिएको पपुलिजमको लहर नेपालमा पनि देखा परेको उल्लेख छ। प्रतिवेदनमा नेपालमा उदाएका केही पात्र र प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, उदारवाद तथा बहुलवादी मूल्य-मान्यताको अवमूल्यन गर्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
पछिल्लो समय राजनीतिमा ‘स्टन्ट’ र तत्कालको लोकप्रियतामा रम्ने प्रवृत्ति बढेको सन्दर्भलाई इंगित गर्दै प्रतिवेदनमा भनिएको छ, “यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ।”
महामन्त्री थापाले यस्तो भ्रम चिर्नु र समावेशी लोकतन्त्रको संवर्द्धन गर्नु कांग्रेसको दायित्व भएको उल्लेख गरेका छन्। प्रतिवेदनमा उनले लेखेका छन्, “लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो।”
लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भएमा मात्र पद्धतिको विकास हुने र त्यसले नै समग्र प्रणालीलाई बलियो बनाउने उनको ठहर छ। लोकतन्त्र शासन प्रणाली मात्र नभई जीवन पद्धति भएको उल्लेख गर्दै महामन्त्री थापाले लोकतन्त्र सधैँ विधि र प्रक्रियामुखी हुने जिकिर गरे। साथै, पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत रहँदै संविधानको रक्षाका लागि आह्वान समेत गरिएको छ।
पुष २८, २०८२ सोमबार १५:४३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।