‘कांग्रेसबाट कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने, चुनावमा गठबन्धन नगर्ने’
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देशको पुनर्संरचनाका लागि साहसिक प्रस्तावहरू सहितको सांगठनिक प्रतिवेदन पेश गरेका छन्।
आइतबारदेखि सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत सोमबार जारी बन्दसत्रमा महामन्त्री शर्माले ‘बदलिएको देश / बदल्नुपर्ने कांग्रेस: सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमा सबैभन्दा चर्चाको विषय बनेको प्रस्ताव ‘प्रधानमन्त्रीको कार्यकाल’ सम्बन्धी छ।
महामन्त्री शर्माले नेपाली कांग्रेसको तर्फबाट अब कोही पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने नीति लिनुपर्ने प्रस्ताव गरेका छन्। यसलाई पार्टीको आन्तरिक नीति मात्र नभई संविधानमै व्यवस्था गर्न पहल गरिने प्रतिबद्धतासमेत जनाइएको छ।
आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने विषयलाई प्रतिवेदनमा दृढताका साथ उठाइएको छ।
‘पुरानो बानीले नयाँ भविष्य निर्माण गर्न सकिँदैन’ भन्दै शर्माले पार्टीलाई नयाँ मनोविज्ञानका साथ अघि बढाउन र जनतामाझ कांग्रेसको छवि सुधार्न ‘रि-ब्रान्डिङ’ गर्नुपर्नेमा जोड दिएका छन्।
साङ्गठनिक सुधारअन्तर्गत केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका ४० जना युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।
साथै, उम्मेदवार चयन प्रक्रियालाई लोकतान्त्रिक बनाउन ‘पाइलट प्रोजेक्ट’ का रूपमा ‘प्राइमरी निर्वाचन’ प्रणाली सुरु गर्ने योजना पनि अघि सारिएको छ।
यस्तै प्रतिवेदनमा भागबन्डाको अन्त्य गर्दै ‘इन्टिग्रिटी भेटिङ सिस्टम’ मार्फत योग्यता र नैतिकताका आधारमा नियुक्ति गर्ने, जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय संरचना बनाई विदेशमा रहेका नेपालीहरूलाई पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गराउने प्रस्ताव पनि समेटिएको छ।
यसका अलावा सरकारी सेवामा हुने भ्रष्टाचार रोक्न सेवाग्राही र कर्मचारीबीच प्रत्यक्ष भेट नहुने गरी डिजिटल प्रणालीको विकास गर्ने, पहुँचवाला नेताका क्षेत्रमा मात्र बजेट जाने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा बजेट वितरण गर्ने, जातीय विभेद, घरेलु हिंसा वा बालश्रम जस्ता कार्यमा संलग्न भएको प्रमाणित भएमा पार्टी सदस्यता स्वतः खारेज हुने लगायतका प्रस्ताव पनि छ।
महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमार्फत कांग्रेसलाई केवल सत्ता प्राप्तिको माध्यम नभई ‘सधैँ संयमित र सधैँ जिम्मेवार’ राजनीतिक दलका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छन्। बन्दसत्रमा अहिले सो प्रतिवेदनमाथि छलफल भइरहेको छ।
पुष २८, २०८२ सोमबार १३:२४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।