ईरानमा सकारविरोधी प्रदर्शनमा ५३८ जनाको मृत्यु, लन्डन दूतावासमा झण्डा फेरियो
तेहरान : इरानमा सरकार विरोधी प्रदर्शनको आज १६औँ दिन पुगेको छ। पछिल्लो दुई सातादेखि जारी यस प्रदर्शनमा अहिलेसम्म ५३८ जनाको मृत्यु भइसकेको छ भने १० हजार ६ सयभन्दा बढी मानिस पक्राउ परेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले प्रदर्शनकारीहरूले प्रहरीलाई मारेको र जिउँदै जलाएको आरोप लगाउँदै यसलाई इजरायली खुफिया एजेन्सी ‘मोसाद’को षड्यन्त्र बताएका छन्।
समाचार एजेन्सी एपीका अनुसार मृत्यु हुनेमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी छन्। यद्यपि, अल जजीराले १०९ सुरक्षाकर्मी मारिएको दाबी गरेको छ।
प्रदर्शनका बीच इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले यदि अमेरिकाले इरानमा आक्रमण गरेमा मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य आधार शिविर, पानीजहाज र इजरायललाई निशाना बनाइने बताएका छन्।
संसदको प्रत्यक्ष सत्रमा सांसदहरूले ‘अमेरिका मुर्दावाद’को नारा लगाएका थिए।
यसैबीच, अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सम्भावित सैन्य आक्रमणका विकल्पहरूबारे ‘ब्रिफिङ’ गरेका छन्।
न्युयोर्क टाइम्सका अनुसार इरान सरकारले प्रदर्शनकारीमाथि थप दमन गरेमा ट्रम्पले सैन्य कदम चाल्न सक्नेछन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरान स्वतन्त्रताको बाटोमा हेरिरहेको छ, अमेरिका मद्दत गर्न तयार छ।’
पूर्व युवराज रजा पहलवी स्वदेश फर्कने तयारीमा
विगत ५० वर्षदेखि अमेरिकामा निर्वासित जीवन बिताइरहेका ६५ वर्षीय पूर्व युवराज (क्राउन प्रिन्स) रजा पहलवीले आफू इरान फर्कने तयारीमा रहेको बताएका छन्।
उनले भनेका छन्, ‘म मेरो देश फर्कने तयारी गर्दैछु ताकि राष्ट्रिय क्रान्तिको जितको समयमा जनतासँगै उभिन सकूँ।’
प्रदर्शनकारीहरूले पहलवीलाई एक धर्मनिरपेक्ष र लोकतान्त्रिक विकल्पका रूपमा हेरिरहेका छन्।
लन्डन दूतावासमा फेरियो झण्डा
बेलायतको लन्डनस्थित इरानी दूतावासमा प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्रको झण्डा हटाएर १९७९ को इस्लामिक क्रान्ति अघिको (शेर र सूर्य अंकित) झण्डा फहराएका छन्।
इरानमा जारी प्रदर्शनको मुख्य कारण आर्थिक बदहाली हो। इरानी मुद्रा रियालको भाउ अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ। खाद्यान्नको मूल्यमा ७२ प्रतिशत र औषधिको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि भएको छ। सन् २०२६ को बजेटमा कर बढाउने प्रस्तावले जनतामा थप आक्रोश पैदा गरेको छ।
इरानका राष्ट्रपति मसुद पजशकियानले अमेरिका र इजरायलले इरानमा दंगा भड्काएर अराजकता फैलाउन खोजेको आरोप लगाएका छन्। त्यस्तै, सर्वोच्च नेता अली खामेनीले प्रदर्शनका पछाडि विदेशी एजेन्टको हात रहेको दाबी गर्दै ट्रम्पलाई खुसी पार्न देश बर्बाद नगर्न चेतावनी दिएका छन्।
पुष २८, २०८२ सोमबार ०८:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।