कांग्रेस विशेष महाधिवेशनमा सभापति बदल्ने संख्या पुग्यो, ५६ प्रतिशत प्रतिनिधि सहभागी, सोमबार पनि दर्ता खुल्ला
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६ सय ६२ प्रतिनिधि सहभागी भइसकेको आयोजक समितिले जानकारी दिएको छ। दोस्रो विशेष महाधिवेशन आयोजक सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार पहिलो दिन आइतबार २ हजार ६ सय ६२ जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन हस्ताक्षर गरिसकेका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि थिए। त्यसको आधारमा विशेष महाधिवेशनको पक्षमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको देखिन्छ। महाधिवेशनको उद्घाटन सत्र सकिए लगत्तै मञ्चबाट भने ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले बन्द सत्रमा सहभागी हुन हस्ताक्षर गरिसकेको दाबी गरिएको थियो। तर मञ्चबाट गरिएको दाबी र सार्वजनिक विज्ञप्तिको अंक भने मिलेन।
सोमबार बिहान ८ बजेबाट बन्द सत्र राखेकोमा थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आउँदै गरेको भन्दै सोमबार ८ देखि १० बजेसम्म नाम दर्ताकोक्रम जारी राखेर १० बजेबाट मात्र बन्द सत्र सुरु गर्ने तयारी भएको छ।
सार्वजनिक विवरण अनुसार महाधिवेशनमा सहभागी हुन कोशीबाट ४२५, मधेसबाट ४४६, बाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। यसैगरि कर्णालीबाट १३४ जना, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ/शुभेच्छुक र जनसम्पर्कका १९५ जनाले बन्द सत्रमा सहभागी हुन नाम दर्ता गराएका छन्।
नयाँ सभापति छान्न सक्छ ?
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनसक्ने भयकै कारण संस्थापन पक्षमा रहेका नेताहरूले नियमित महाधिवेशन गर्ने भन्दै वैशाख पुर्याएका थिए। यो बिचमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तय गरेपछि बहुमत अर्थात् ५०% पुग्न नदिने रणनीति बनेको थियो। तर त्यसमा संस्थापन पक्ष कमजोर देखियो।
दुवै महामन्त्रीले विशेष महाधिवेशनबाट पार्टी विभाजित नहुने बताइरहेका छन्। तर आइतबारको उद्घाटन सत्रमा गगनले केन्द्रले विशेष महाधिवेशन बोलाएको अवस्थामा छलफलको विषय केन्द्रले नै तोक्ने गरे पनि यो विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूले बोलाएकाले बन्द सत्रका अजेण्डा पनि उनीहरूले नै बताउने बताए।
उनले विशेष महाधिवेशनमा नीतिदेखि नेता बदल्नेसम्मका विषय उठिरहेको भन्दै बन्द सत्रबाट महाधिवेशन प्रतिनिधिहरूले जे निर्णय गर्छन् त्यो सबैले स्वीकार गर्नुपर्ने र आफू स्विकार्न तयार रहेको बताएका थिए।
तर विशेष महाधिवेशन कसले बोलाउने भन्ने विवाद जारी नै छ। तर कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेको अवस्थामा तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी प्रावधान छ। ५४ प्रतिशतले विशेष महाधिवेशन मागेका थिए।
सोही अनुसार आइतबारबाट विशेष महाधिवेशन सुरु भएको हो। कांग्रेसको विधानमा पार्टी सभापतिमा निर्वाचित हुन कुल मतदातामध्येबाट जसले ५१ प्रतिशत मत ल्याउँछ उही निर्वाचित हुन्छ। त्यस अनुसार यदि सोमबारको बन्द सत्र नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेमा विधान नयाँ नेतृत्व चयनका लागि सहभागीको संख्या पुगेको छ।
पुष २७, २०८२ आइतबार २१:४२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।