मिसेस् नेपाल आइडल शीतलको प्रसव पीडा र खुसी : सन्तान जन्माएपछि त ज्यान हलुका भएर उँडुउँडु लाग्ने रहेछ
सामाजिक सञ्जालमा आफ्नो साथीहरू विभिन्न शृङ्गार प्रतियोगितामा भाग लिएको देख्दा शीतल याक्सू लिम्बुलाई पनि यस्तै कुनै कार्यक्रममा सहभागी हुन रहर लाग्यो। उनी मिसेस् नेपाल आइडल २०२५ मा सहभागी भइन् र विजेता पनि बनिन्। त्यसले घरबाहिरको संसारलाई अझै फराकिलो ढंगबाट हेर्न सिकाएको उनको अनुभव छ ।
चावहिलमा लामो समयदेखि कस्मेटिक पसल चलाउँदै आइरहेकी उनी लाहुरे परिवारमा जन्मिइन्। ताप्लेजुङमा मायाका साथ हुर्किएका उनले यस बिचमा फेसन डिजाइनिङ पढ्नेदेखि लिएर ब्यूटी पार्लर समेत चलाइन्।
यी सब भन्दा माथि उनी आमा पनि हुन् । बिहे अनि आमा बनिसकेपछि आफ्नो जीवनमा धेरै उतार चढाव अनि संघर्ष भोग्न परेको उनको अनुभव छ। उनै लिम्बूले उकेराको साप्ताहिक स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :
OOO
ताप्लेजुङमा लाहुरेको छोरी भनेपछि गाउँमा अर्कै शान थियो। हामी चार दिदीबहिनी सँगसँगै हुर्कियौँ। बाल्यकाल एकदम राम्रो थियो । खेल्दै पढ्दै कतिखेर ठुलो भयौँ थाहा नै भएन।
एसएलसी सक्किएपछि बाबा रिटायर हुनुभयो। अनि परिवार सहित झापा झर्यौँ। त्यसपछिको पढाइ झापामै भयो। स्नातक पढ्दै गर्दा मेरो बिहे भयो। सोल्टासोल्टिनी अनि घरमा पनि हाम्रो सम्बन्धबारे सबैलाई थाहा भएपछि बिहे गर्न समस्या भएन।
बिहे अगाडि कुनै बाहिर कुनै पनि काम गरेको अनुभव थिएन। बिहे पछिको जीवन अलि फरक भयो। एक हिसाबले भन्नुपर्दा दुखदायी नै थियो। माथिबाट एकै पटक तल झरेको जस्तो मैले महसुस गरेको थिएँ। जीवनशैली नै मेरो पुरै परिवर्तन भयो।
मेरो परिवार र गाउँलेहरूले पनि दङ्ग पर्थे। श्रीमानको घरमा ठुलो परिवार थियो। गाउँमा काम धेरै गर्न पर्ने त सामान्य नै हो। त्यसै कारणले पढाइलाई निरन्तरता पनि दिन सकिँन। पढाइलाई माथि लाने मेरो ठुलो चाहना थियो।
स्नातकको पहिलो वर्ष पढ्दै गर्दा बिहेको भएको हो मेरो। दोस्रो वर्षमा पढ्ने भनेर तयारी गर्दागर्दै गर्भ रहेछ। त्यै पनि परीक्षा दिन्छु, बरु पछि फेरि ब्याक पेपर दिन्छु भनेर गर्भवती भएको ७ महिना हुँदा पनि ठुलो पेट बोकेर परीक्षा दिन गएकी थिएँ।
तर नानी भएपछि त झन् पढाइलाई अगाडि लान सम्भव नै भएन। पढ्नै सकिँन। बिहे भएको केही समयमै सन्तान हुने खबर पाएर पनि मलाई त्यसबेला गाह्रो लागेको हुन सक्छ। जीवनमा संघर्ष त त्यसपछि पो भयो।
नानी भए पछि पनि काठमाडौँमा आउँदा पढ्न खोजेको हुँ। तर अवस्था त्यस्तै त्यस्तै भइगयो। श्रीमान् त्यसबेला देखिनै प्रहरीको जागिरे हुनुहुन्थ्यो। त्यो बेला प्रहरीको तलब झन् कति नै हुनु। आर्थिक अवस्थाले गर्दा पनि मेरो पढाई प्राथमिकतामा परेन।
अनपेक्षित भएको करणले पनि होला गर्भवती भएको थाहा पाउँदा खुसी थिए/थिइन भन्ने पनि थाहा भएन। गर्भवती भएको पनि अलि पछि नै थाहा भयो। त्यसबेला म २४ वर्षको थिएँ। अल्लारे उमेर भएर पनि हो कि केही अनुभवै थिएन।
सन्तानलाई जन्म दिएपछि चैं आमा हुँ भन्ने लागेको थियो। घरमा सब जना खुसी हुनुहुन्थ्यो। म पनि खुसी नै थिएँ कि! नसोचिएको कुराहरू भइरहेको थियो।
गाउँमै मैले नानीलाई जन्म दिएकी हुँ। भारी बोक्ने, कोदालोले बारी खन्ने सबै काम गर्भावस्थामा पनि मजाले गरेँ। गाउँमा त काम गर्नु सामान्य नै हो नि। गर्भवती भएको थाहा भएदेखि नै लाज पो मान्न पर्ने अवस्था थियो। अहिले जस्तो उत्सव मनाउने चलनै थिएन। त्यै भएर पनि मेरो त्यस बेलाको एउटा पनि फोटो छैन। अहिले जस्तो भएको भए म पनि उत्सव झैँ मनाउँथे जस्तो लाग्छ।
सुरुको तीन महिनामा नाक लाग्यो भनेर खाना खान सक्ने अवस्था थिएन। लसुन, प्याज औधी गन्हाउँथ्यो। तर पनि खाना चैं खाएँ। तर मेरो तौल बढेन। म झन् दुब्लो भएकी थिएँ।
हुन त आफ्नो दुख आफैंलाई ठुलो लाग्छ भन्छन्। मलाई साँच्चै नै गर्भावस्थाको दुखहरू एकदम धेरै थियो भन्ने लाग्छ।
मनोवैज्ञानिक रूपमा पनि त्यसबेला एकदम संवेदनशील भइने रहेछ। अलि बढी श्रीमानको ‘अटेन्सन’ खोजिने रहेछ। श्रीमानले मलाई हेरून्, ध्यान दिऊन्, माया गरून्, आफ्नै नजिक बसिरहुन् भन्ने लागेको थियो।
सानो-सानो कुराले पनि चित्त दुखेर रुन मन लाग्थ्यो। श्रीमान् र मेरो उमेर अन्तर पनि त्यति धेरै छैन। त्यही भएर दुवैलाई अनौठो अनुभव भयो।
मलाई दिउँसो देखिनै प्रसव व्यथा लाग्न थालेछ। तर श्रीमान् आएपछि मात्र हस्पिटल जान पर्खेर बस्यौँ। त्यसबेला दिसा पिसाब एकदम छिटोछिटो र बढी लागेको जस्तो अनुभव गरेँ। श्रीमान् आउने बित्तिकै हस्पिटल गयौँ।
हस्पिटलमा नर्सले ठुलो आवाजमा बोलाउँदा पनि रिस उठेको थियो। त्यै भएर कुनै पनि गर्भवती महिला वा व्यथा सहिरहेकी महिलालाई डाक्टर हुन् या नर्स र घरकै कुनै व्यक्ति भए पनि नरम भएर बोल्नुपर्छ जस्तो लाग्छ। उनीहरूलाई सबैले माया गरिदिउन् भन्ने लाग्छ त्यो बेलामा। आफैँ पीडामा भएको समयमा कराउने, गाली गर्ने र ठुलो स्वरले कसैले पनि नकाराउन् भन्ने लाग्ने रहेछ।
हस्पिटल गएको तीन घण्टामै मैले नानीलाई जन्म दिएँ। सहज र नर्मल रूपमै जन्माएँ। सन्तान जन्माएपछि त ज्यान हलुका भएर उँडुउँडु लाग्ने रहेछ। धेरै नै हल्का महसुस भयो।
पहिलो पटक नानी देख्दा त अनौठो लाग्यो। होइन कि के हो ! मेरै बच्चा हो र ! भन्ने लागेको थियो। पहिलो पटक आमा हुँदाको क्षणमा अचम्मकै अनुभव हुने रहेछ।
बच्चाको अनुहार त सानो अनि बुढो मान्छे जस्तो पो देखेको थिएँ। उसलाई काखमा राखेर स्तनपान गराउँदाको अनुभव मलाई रमाइलो लाग्यो।
आमा र बच्चाको सम्बन्ध त्यसपछि झन् आत्मीय बनेको हुन सक्छ। नर्मल डेलिभरी भएको कारणले हामी छिट्टै घर फर्कियौँ। सुत्केरी स्याहार पनि निकै राम्रो भयो। माइतीमा बहिनीहरूले आमाछोरीलाई नै निकै माया दिएर स्याहारे।
नानी दुई वर्षको भएपछि हामी काठमाडौँ आयौँ। उनलाई पढाउने, हुर्काउने सबै काम यहीँ नै भयो। मध्यम वर्गीय परिवारले जसरी अभावबीच पनि आफ्नो सतप्रतिशत दिएर सन्तानलाई प्राथमिकता दिन्छन्, हामीले पनि उनलाई त्यसरी नै मायाले हुर्कायौँ।
अब पढ्नु पर्छ भनेर उनले आफै मनन गरिन्। त्यसपछि हामीलाई झन् सहज भयो। अहिले एकदम राम्रो पढिरहेकी छिन्। उनी पढेको देख्दा मलाई आफैंले पढेको जस्तो लाग्छ। एकदम खुसी छु।
आमा हुनु एकदम जटिल काम रहेछ। कसैले आमा के हो भनेर सोध्यो भने आमा पछि भगवान् हो-मेरो लागि। एउटा आमाले आफ्नो सन्तानको लागि ज्यान दिएर कर्तव्य पुरा गरेको देख्दा आफैंलाई अचम्म लाग्छ।
सबले अर्को सन्तान पनि जन्माउनु पर्छ भनेका थिए। तर एउटा भए पुग्छ, उसलाई राम्रो जीवन दिनुपर्छ भनेर मैले मानिँन। आमा भए पछि आफैंमा पनि मैले धेरै परिपक्वता पाएको छु। झन् बढी जिम्मेवार, सहनशील, गम्भीर, धैर्य र शक्ति महसुस गरेकी छु।
पुष २७, २०८२ आइतबार २१:१८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।