विश्वप्रकाशले भने "घर वा सिंहदरबार जल्नु ठूलो कुरा हैन, यहाँ आत्मविश्वास जलेको छ"
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई मनोवैज्ञानिक द्वन्द्वबाट बाहिर निकालेर आशा जगाउनुपर्ने बताए। उनले यसका लागि जहाँ चुक्यौ त्यहीबाट सुधारको सुरुवात गर्नुपर्ने भन्दै पार्टीभित्र नवीन आत्मविश्वास भर्न र समाजमा विश्वास भर्न पार्टीको विशेष महाधिवेशनको आयोजना गरिएको बताए।
पार्टीमा जे जस्ता कमजोरी भएका छन् त्यसमा महामन्त्रीको रूपमा जिम्मा लिने भन्दै देशमा नयाँ परिस्थिति बनेको र त्यसको सामना गर्न अब पुरानै शैली र सोचले नहुने भएकाले नेपाली कांग्रेससँगै देशलाई पनि बदल्ने बताए।
उनले जो बदलिन सक्छ त्यसले बदल्न पनि सक्ने भन्दै अहिले बदलिएको अवस्था अनुसार पार्टीको विशेष महाधिवेशन आयोजना गरिएको बताए। कांग्रेसलाई बलियो बनाउन मात्र विशेष महाधिवेशन आयोजना नगरी देशलाई कसरी बलियो भनेर पनि विशेष महाधिवेशनको आयोजना गरिएको उनको तर्क थियो।
"तपाईँको र मेरो घर जल्यो भन्ने प्रश्न मात्र हैन, कसैको ज्यान जल्यो, सिंहदरबार जल्यो," उनले भने "सबैभन्दा महत्वपूर्ण नेपालीको आत्मविश्वास जल्दै छ। यी सबैको उपचारका लागि महाधिवेशनबाट नवीन सोच खोजेका हौँ।"
पोखरी जसरी जमेको नेतृत्वलाई बगेको नदी जस्तो बनाउन र सुशासन ल्याउन सक्ने ल्याकत कांग्रेसजनमा रहेको भन्दै उनले त्यसैका लागि विशेष महाधिवेशनको आयोजना गरिएको उनले बताए।
पुष २७, २०८२ आइतबार १८:११:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।