विशेष महाधिवेशनमा देखिएको गगनको हाँसो : कुटिल कि जटिल !
काठमाडौं : पार्टीको संस्थापनपक्ष विपक्षमा हुँदाहुँदै महामन्त्रीको रूपमा जिम्मेवारी बोध गर्दै गगनकुमार थापा र विश्वप्रकाश शर्माले जोखिम मोल्दै पार्टीको विशेष महाधिवेशन आयोजना गरिछाडे।
विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन मागेको तीन महिनाभित्र आयोजना गर्नु पर्ने भए पनि संस्थापन पक्षले बिचमा नियमित महाधिवेशनको मिति तोकेर वैशाखमा पूर्याएपछि गगन र विश्वले पार्टी केन्द्रीय कार्यालयको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको आयोजना गरे।
आइतबार भृकुटीमण्डपमा भइरहेको उद्घाटन सत्रमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ। पार्टी सभापति शेरबहादुर देउवा, संस्थापनइतर समूहका नेता शेखर कोइरालासहितका कार्यसमितिका अधिकांश नेतृत्व महाधिवेशनमा अनुपस्थित रहे पनि उनीहरू निकट महाधिवेशन प्रतिनिधि र नेताहरू भने कार्यक्रममा सहभागी छन्।
विशेष महाधिवेशन आयोजक समितिले मध्यान्ह चार बजेसम्म विशेष महाधिवेशनमा ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताएका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए।

महाधिवेशनस्थलमा यस पटक बस्ने शैली समेत बदलिएको छ। नेताहरु मञ्चमा बसेका छन् तर सोफा या कुर्सी छैन, उनीहरु चकटीमा बसेका छन्। तल रहेका सहभागीहरूका लागि कुर्सी राखिएको छ।

महाधिवेशनलाई नीति महाधिवेशन बनाउने कि यसबाट नेतृत्व नै परिवर्तन गर्ने भन्ने प्रस्ट भइसकेको छैन। अधिकांशले यसलाई नीति महाधिवेशन बनाउन आग्रह गरिरहेका छन्। केहीले अब नेतृत्व नै परिवर्तन गर्न दबाब बढाइरहेका छन्।





पुष २७, २०८२ आइतबार १६:५०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।