कांग्रेस विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या ४९ प्रतिशत पुगेको दाबी
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४९ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको आयोजक पक्षले दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा कार्यक्रम सञ्चालकले मञ्चबाटै ४९ दशमलव ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको दाबी गरे।
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए। कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। नाम दर्ताकोक्रम जारी छ। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको उद्घाटनमा पार्टीको सभापति, कार्यवाहक सभापति र उपसभापति उपस्थित छैनन्।
कार्यक्रम काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ भने दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष अतिथि छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा संस्थापन पक्षको नेतृत्वले बहिष्कार गरे पनि उनीहरू समर्थित नेताहरू भने सहभागी छन्। संस्थापनइतर समूहका नेता दाबी गरिएका शेखर कोइराला विशेष महाधिवेशनमा आएका छैनन्। तर उनी निकट सुनिल शर्मा लगायतका नेताहरू सहभागी छन्।
पुष २७, २०८२ आइतबार १६:२७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।