विशेष महाधिवेशनको संघारमा शेखरको भिडिओ सन्देश : सभापति हुने कुराले मलाई लोभ्याउँदैन
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो कुनै व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा नरहेको स्पष्ट पार्दै पार्टीको भावनात्मक एकता र विधानसम्मत सञ्चालनका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
विशेष महाधिवेशनको संघारमा एक भिडिओ सन्देश जारी गर्दै उनले पार्टीभित्रको वर्तमान अन्योल र नेतृत्वको कार्यशैलीप्रति आफ्नो धारणा सार्वजनिक गरे। कोइरालाले आफू सधैँ शान्त र शालीन सङ्घर्षमा विश्वास गर्ने उल्लेख गरे।
उनले भने, “म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा सङ्घर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कयौं शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्दथेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ।” कोइरालाले मन्त्री वा प्रधानमन्त्री जस्ता राजकीय पदको लोभ आफूमा कहिल्यै नभएको दाबी गरे।
आफ्नो राजनीतिक यात्रा पदका लागि नभई सिद्धान्तका लागि भएको जिकिर गर्दै उनले भने, “मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवनदर्शन हो। र म यही जीवनदर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहनेछु।”
पार्टीभित्रको शक्ति सन्तुलन र पुस्तान्तरणको बहस चलिरहँदा डा. कोइरालाले आफू दुईतर्फी दबाबमा रहेको स्वीकार गरे। संस्थापन पक्षको कार्यशैली र युवा पुस्ताको तीव्र आकांक्षाबीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण रहेको उनको भनाई छ।
कोइरालाले भने, “यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान् र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्।”
विशेष महाधिवेशनको माग र पार्टीभित्रको बहसले विभाजनको रूप लिन नहुनेमा उनको जोड छ। संक्रमणकालीन अवस्थामा जिम्मेवार नेताले त्याग गरेर भए पनि पार्टी एकता जोगाउनुपर्ने उनको तर्क छ।
कोइरालाले भने, “मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्य समितिमा लिखित रूपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ। मलाई यो पनि थाहा छ कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भनेर। म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहनेछु।”
पुष २७, २०८२ आइतबार १३:३१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।