गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण मृत्यु
काठमाडौं : भारतीय टेलिभिजन रियालिटी शो 'इन्डियन आइडल' सिजन-३ का विजेता तथा चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको मृत्यु भएको छ। ४२ वर्षको उमेरमा आइतबार बिहान भारतको नयाँ दिल्लीस्थित निवासमा उनको मृत्यु भएको हो।
प्रशान्त निकट चलचित्रकर्मी राजेश घतानीले उनको मृत्युको पुष्टि गरे। मुटुमा एक्कासि समस्या (कार्डियाक अरेस्ट) देखिएपछि उनलाई दिल्लीकै एक अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
नेपालका चर्चित गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत प्रशान्तको असामयिक मृत्युप्रति दुःख व्यक्त गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, प्रशान्त केही दिनअघि मात्र अरुणाचल प्रदेशमा एक सांगीतिक कार्यक्रम सकेर दिल्ली फर्किएका थिए।
मृत्युअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको थिएन। ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जीलिङमा जन्मिएका तामाङले अत्यन्तै साधारण पृष्ठभूमिबाट सांगीतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका थिए। सानै उमेरमा पिता गुमाएपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनी कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा भर्ना भएका थिए।
प्रहरीको सांगीतिक ब्यान्ड (अर्केस्ट्रा) मा आबद्ध रहेका उनले सन् २००७ मा 'इन्डियन आइडल' मा सहभागी भएका थिए। उनले उपाधि पनि जितेका थिए। गायनसँगै प्रशान्तले नेपाली चलचित्र क्षेत्रमा अभिनेताका रूपमा आफ्नो स्थान बनाएका थिए। उनले अभिनय गरेका ‘गोर्खा पल्टन’, ‘परदेशी’ र हालै प्रदर्शनमा आएको ‘परदेशी-२’ व्यावसायिक रूपमा सफल चलचित्र मानिन्छन्।
पुष २७, २०८२ आइतबार १२:४२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।