समानुपातिक बन्दसूची अद्यावधिक गर्दै रास्वपा

समानुपातिक बन्दसूची अद्यावधिक गर्दै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची अद्यावधिक गर्दैछ। उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया बिथोलिएपछि रास्वपाले आफ्नो समानुपातिक सूची सच्याउन लागेको हो।

रास्वपा र उज्यालो नेपाल दुवै पार्टीले शनिबार एकता सम्झौता भङ्ग भएको घोषणा गरेका थिए। यसअघि दुई दलबीचको सहमतिअनुसार उज्यालो नेपालका १४ जना उम्मेदवारहरूको नाम रास्वपाको बन्दसूचीमा समावेश गरिएको थियो। तर एकता टुटेलगत्तै रास्वपाले केही नामहरू हटाएर परिमार्जित सूची बुझाउन नेताहरूलाई आइतबार निर्वाचन आयोग पठाएको छ।

रास्वपाले यसअघि बुझाएको बन्दसूचीमाथि पार्टीभित्र र बाहिरबाट चर्को आलोचनासमेत भएको थियो। सोहीक्रममा सूचीमा समेटिएका डा. रामजी राम, डा. अरनिको पाँडे, आसिफ साह, टासी शेर्पा, त्रिशला गुरुङ, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बु र सिर्जना ओली (सिर्जु) लगायतले आफ्नो नाम फिर्ता लिने घोषणा गरिसकेका छन्।

पार्टीभित्रको असन्तुष्टि र उज्यालो नेपालसँगको एकता भङ्ग भएपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न रास्वपाले समानुपातिक सूची सच्याउन लागेको हो। रास्वपा प्रवक्ता मनिष झाले भने, “सूची अद्यावधिक गर्न रास्वपा नेताहरू निर्वाचन आयोग पुगिसक्नुभएको छ।”

पुष २७, २०८२ आइतबार १२:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।