कांग्रेस विशेष महाधिवेशन : कुन प्रदेशबाट कति प्रतिनिधिले गरे नाम दर्ता ?

कांग्रेस विशेष महाधिवेशन : कुन प्रदेशबाट कति प्रतिनिधिले गरे नाम दर्ता ?

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति देखिएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा बिहान ११ बजेसम्म ४८८ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको यो विशेष महाधिवेशनका लागि बिहान ८ बजेदेखि नै नाम दर्ता प्रक्रिया सुरु भएको थियो। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले उपलब्ध गराएको सूचीअनुसार नाम दर्ता गराउनेमा लुम्बिनी प्रदेशका प्रतिनिधिहरूको संख्या सबैभन्दा उच्च छ।

सचिवालयमा अनुसार बिहान ११ बजेसम्म कोशीबाट ८३, मधेशबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट १२२, सुदूरपश्चिमबाट ३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट २९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।

प्रतिनिधिहरूले महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क बुझाएर परिचयपत्र लिइरहेका छन्। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरिएको थियो। सोही माग सम्बोधन गर्दै महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा अधिवेशन बोलाइएको हो। 

यद्यपि, पार्टीको संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ। महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो एक बजे हुने तय गरिएको छ। उद्घाटन सत्रको सभापतित्व काठमाडौं जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्। आइतबार बिहान काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुससमेत निकालिएको छ। विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ।

पुष २७, २०८२ आइतबार ११:४३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।