एमाले लुम्बिनीमा 'हेभीवेट'को दबदबा : १० क्षेत्रमा ‘परीक्षित’ अनुहार निर्विकल्प

एमाले लुम्बिनीमा 'हेभीवेट'को दबदबा : १० क्षेत्रमा ‘परीक्षित’ अनुहार निर्विकल्प

बुटवल : एमाले लुम्बिनी प्रदेश कमिटीले ‘लोकप्रियता’ र ‘निर्वाचन जित्ने निश्चितता’लाई मुख्य कडी बनाउँदै प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। 

तल्लो तहबाट आएका नामहरूलाई प्रदेश कमिटीले ‘लोकप्रियता मापन’को फिल्टरमा पुराना ‘हेभीवेट’ नेताहरूको वर्चस्व रहेका १० वटा निर्वाचन क्षेत्रमा एकल उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो।

शक्तिशाली र प्रभावशाली नेताहरूको वर्चस्व जोगाउने र पराजित क्षेत्रमा शक्ति सञ्चय गर्ने दोहोरो रणनीतिसहित एमालेले उम्मेदवार छनोट गरेको छ। पार्टीभित्रको आन्तरिक सन्तुलन र विपक्षीको सामाना गर्न सक्ने सामर्थ्यका आधारमा कतै ‘एकल नाम’ कायम राखिएको छ भने कतै नयाँ नाम ‘थप’ गरेर पठाएको छ। 

जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक विषम परिस्थितिमा हुन लागेको फागुन २१ को चुनावका लागि एमालेले ‘परीक्षित’ अनुहारलाई निर्विकल्प उम्मेदवारका रूपमा अघि सारेको छ। एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जिल्लाबाट आएका नामहरूलाई थप घट गरेर केन्द्रमा सिफारिस गरिएको बताए।

को-को हुन एकल उम्मेदवार सिफारिस ?

रुपन्देहीका २ वटा निर्वाचन क्षेत्रबाट एमालेले एकल उम्मेदवार सिफारिस गरेको छ। रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल एकल सिफारिस भएका छन्।

पौडेलले रुपन्देहीबाट लगातार चार पटकसम्म चुनाव जितेका छन्। ०६४ सालमा माओवादीका स्व. भक्ति पाण्डेलाई पराजित गरेर उनी विजयी भएका थिए। ०७० सालमा तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईलाई, ०७४ सालको निर्वाचनमा काँग्रेसका युवराज गिरीलाई र ०७९ सालको आम निर्वाचनमा रास्वपाका गणेश पौडेललाई उनले पराजित गरेका थिए।

गएको आम निर्वाचनमा विष्णु पौडेलले २७ हजार १६५ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिस्पर्धी गणेश पौडेलले २५ हजार ७९५ मत प्राप्त गरेका थिए।

त्यस्तै रुपन्देही ५ बाट खिमलाल भट्टराईको नाम एकल उम्मेदवारका लागि सिफारिस भएको छ। गएको आम निर्वाचनमा उनी उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिए पनि उम्मेदवार बन्न पाएनन्। सो क्षेत्रबाट गएको निर्वाचनमा एमालेका वासुदेव घिमिरे विजयी भएका थिए।

उनले काँग्रेसका भरतकुमार शाहलाई पराजित गरेका थिए। विजयी घिमिरेले ३६ हजार ८२२ मत प्राप्त गर्दा प्रतिस्पर्धी शाहले जम्मा २७ हजार १२० मत प्राप्त गरेका थिए।

त्यस्तै गुल्मी १ बाट एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली एकल उम्मेदवार सिफारिस भएका छन्। वैचारिक नेताको छवि बनाएका ज्ञवालीको गएको आम निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीसँग पराजित भएका हुन। विजयी भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गर्दा नेता ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरेका थिए।

त्यस्तै प्रदेश कमिटीले गुल्मी २ बाट गोकर्ण विष्टको नाम एकल सिफारिस गरेको छ। गुल्मी क्षेत्रीय कमिटीले गोकर्ण विष्टको नाम एकल सिफारिस गरेर जिल्लामा पठाएपनि जिल्ला समितिले डा. नागेन्द्र अर्याल, राजेन्द्र अर्याल र कृष्णप्रसाद अर्यालको नाम सिफारिस गरी प्रदेश कमिटीमा पठाइएको थियो। तर प्रदेश कमिटीले भने गोकर्ण विष्टको नाम एकल सिफारिस गरी केन्द्रमा पठाएको छ।

विष्ट सो क्षेत्रबाट २०५६ देखि संसदीय निर्वाचनमध्ये २०६४ बाहेक सबै चुनाव विष्टले जित्दै आएका छन्। गएको आम निर्वाचनमा उनले तत्कालीन एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाक्रिलाई पराजित गरेका थिए। विजयी विष्टले २८ हजार ४७६ मत प्राप्त गर्दा झाक्रिले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन।

पश्चिम नवलपरासी २ बाट बैजनाथ चौधरीको एकल सिफारिस भएको छ। चौधरीले लुम्बिनी प्रदेशका निवर्तमान सांसद हुन। जिल्ला कमिटीले चौधरी सहित श्यामकुमार बस्याल, सरिता पौडेल र भगौतीप्रसाद यादवको समेत नाम सिफारिस भएकोमा जिल्ला कमिटीको राय अनुसार चौधरीको मात्र नाम प्रदेशले सिफारिस गरी केन्द्रमा पठाइएको छ।

सो निर्वाचन क्षेत्रबाट गएको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान विजयी भएका थिए। प्रधानले ३४ हजार ७६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत प्राप्त गरेका थिए। सो क्षेत्रमा एमालेका दीपेन्द्रकुमार अधिकारीले जम्मा १४ हजार ५०२ मत प्राप्त गरेका थिए।

प्युठानबाट सूर्य थापा एकल उम्मेदवार सिफारिस भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा गएको आम निर्वाचनमा उनै थापा विजयी भएका थिए। उनले ४१ हजार ११८ मत प्राप्त गरी विजयी हुँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरेकी थिइन।

३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुबाट एमाले प्रदेश कमिटीले कपिलवस्तु १ बाट विश्रामप्रसाद चौधरी र क्षेत्र नम्बर २ बाट दृघनारायण पाण्डेलाई एकल उम्मेदवार सिफारिस गरेको छ।

गएको आम निर्वाचनमा कपिलवस्तु १ बाट एमालेका बलराम अधिकारी ३४ हजार ६७५ मत ल्याएर विजयी भएका थिए। त्यस्तै उनका प्रतिस्पर्धी तत्कालीन माओवादीका चक्रपाणि खनालले १८ हजार ९८३ मत प्राप्त गरेका थिए। त्यस्तै क्षेत्र नम्बर २ बाट भने नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले विजयी भएका थिए। उनले ३९ हजार १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका बृजेशकुमार गुप्तले ३८ हजार ६९७ मत प्राप्त गरेका थिए। बृजेशले हालै एमाले परित्याग गरेका छन्।

त्यस्तै दाङ २ मा भने गएको आम निर्वाचनमा तत्कालीन माओवादीकी रेखा शर्मा विजयी भएकी थिइन। उनले एमाले महासचिव शंकर पोखरेललाई १९३ मतले पराजित गरेकी थिइन। विजयी रेखाले २६ हजार ८८० मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए। एमालेले पोखरेलको नाम पनि एकल सिफारिस गरेको छ।

त्यस्तै बाँके १ सूर्य ढकालको नाम एकल सिफारिस भएको छ। गएको आम निर्वाचनमा उनै ढकाल सो क्षेत्रबाट निर्वाचन भएका थिए। उनले २५ हजार २६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादीका महेश्वर जंग गहतराजले १९ हजार ६३२ मत प्राप्त गरेका थिए।

जिल्लाका नाममा थप सिफारिस

प्रदेश कमिटी कतिपय जिल्लाबाट आएका नाममा समेत थप गरेर उम्मेदवार सिफारिस केन्द्रमा पठाएको छ। दाङ १ बाट शुरामणी बेलबासेको नाम प्रदेशले थप गरेर केन्द्रमा पठाएको छ। जिल्लाले रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ र कमला आचार्यको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको थियो। यी नाममा शुरामणी बेलबासेको नाम प्रदेश कमिटीले थप गरेर केन्द्रमा पठाएको हो।

त्यस्तै दाङ ३ बाट रामजी चौधरीको नाम थप गरेर केन्द्रमा पठाइएको छ। क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डे, पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र लुम्बिनी प्रदेश कमिटी सदस्य सीमा न्यौपानेको नाम सिफारिस गरेर प्रदेशमा पठाएकोमा प्रदेशले रामजी चौधरीको नाम थप गरेर केन्द्रमा पठाएको हो।

त्यस्तै बाँके ३ बाट किस्मत कुमार कक्षपति  र दिपा शर्माको नाम थप गरेर केन्द्रमा पठाइएको छ। बाँके ३ बाट दलबहादुर सुनार एकल सिफारिस भएको थियो। अन्य आकांक्षीहरूले भने उम्मेदवार छनोट कार्यविधि र अन्तर पार्टी निर्देशनको उल्लंघन भएको जनाउँदै निर्णय सच्याउन माग गरेका थिए। त्यस पश्चात प्रदेश कमिटीले थप २ जनाको नाम केन्द्रमा थपेर पठाएको हो।

यसैगरी अर्घाखाँचीबाट गोपाल खनालको नाम थप गरेर केन्द्रमा पठाइएको छ। जिल्ला कमिटीले एमाले पूर्व सचिव टोपबहादुर रायमाझी (हाल कारागार), जिल्ला अध्यक्ष पीताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरेकोमा प्रदेशले खनालको नाम थप गरेको हो।

यसैगरी पाल्पा २ बाट भोजराज पोखरेल (रामजी) को नाम थप गरी केन्द्रमा सिफारिस गरेको छ। सो क्षेत्रबाट जिल्लाले विष्णु पौडेल, ठाकुर प्रसाद गैरे, नारायणी देवी शर्मा घिमिरे र डा. रामबहादुर राउतको नाम सिफारिस गरेर प्रदेशमा पठाएकोमा प्रदेशले भोजराज पोखरेलको नाम थप गरेको हो।
 

पुष २७, २०८२ आइतबार १०:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।