पूर्व राजा ज्ञानेन्द्रले पशुपतिनाथसँग कल्याण माग्न छाडेर गोरखनाथसँग सद्बुद्धि मागे
काठमाडौँ : वीरेन्द्र शाहदेखि ज्ञानेन्द्रसम्मले आफ्नो सम्बोधनको अन्त्यमा भन्थे “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल।” ज्ञानेन्द्र शाह राजा भएसम्म र गणतन्त्र आएर तत्कालिन राजा भएपछि पनि बेलाबखत सार्वजनिक गर्ने सम्बोधनको अन्त्यमा उनले श्री पशुपतिनाथलाई सम्झन्थे। केही भिडियो सन्देशमा भने जय नेपाल मात्र भनेको देखियो।
३०४ औँ पृथ्वी जयन्तीको अवसरमा शनिवार जारी भिडियो सन्देशमा भने उनले पशुपतिनाथलाई सम्झिएनन् गोरखनाथलाई सम्झिए। उनले देशै नरहने हो कि भन्ने चिन्ता गरेको भिडियो सन्देशको अन्त्यमा भने “श्री गोरखनाथले हामी सबैलाई सद्बुद्धि दिउन्।”
पछिल्लो समय राष्ट्रिय एकता भन्दै गोरखनाथको प्रचार गर्ने र पृथ्वी पथको चर्चा गर्नेक्रम बढेको छ। पूर्व राजा ज्ञानेन्द्रमा पनि त्यसैको प्रभाव देखियो। त्यसैले उनले सधैँ सम्झने श्री पशुपतिनाथलाई यस पटक सम्झिएनन्। उनले गोरखनाथ सम्झिए।
उनले सम्बोधनमा शाह वंशीय राजसंस्थाले सधैँ नेपाली जनताको खुसी र समृद्धिलाई नै आफ्नो रुचि ठान्दै आएको र झन्डै दुई दशकअघि देशमा शान्ति, स्थायित्व र आर्थिक प्रगतिको चाहना राखेर श्रीपेच र राजदण्ड जनताको नासोका रूपमा सुरक्षित संरक्षणमा बुझाई राजकाजबाट बाहिरिएको उल्लेख गरेका छन्।
यो कदम जिम्मेवारीबाट पलायन नभई सहयोगी नियतका साथ लिइएको निर्णय भएको र यो भावना आम जनतामा पनि रहेको उनको दाबी छ।
नारायणहिटी दरबारबाट बाहिरिएको दुई दशक पुग्न लाग्दा पनि देशले सामना गरिरहेको सङ्कटले चिन्तित तुल्याएको र हिजो देश नबनेकोमा चिन्ता रहेकोमा आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको उल्लेख गरेका छन्।
उनले देशको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल राजाको मात्र नभई राजा र जनताको समान स्वामित्वको देश भएको र राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने बताए।
देशबाट केवल जनशक्ति मात्र नभई अब पुँजी, पुँजीपति र उद्यमीहरूको समेत पलायन हुन थालेको भन्दै यसले मुलुकलाई असफलताको संघारमा पुर्याउन सक्ने चेतावनी दिए। नेतृत्वले युवा पुस्ताको भावना र आवश्यकतालाई नबुझी उनीहरूलाई पटक-पटक प्रयोग मात्र गरेकोले युवाहरूमा असन्तोष र विद्रोहको भावना पैदा भएको भन्दै उनले युवाहरूमा भ्रष्टाचारप्रति देखिएको असहिष्णुता र प्रविधिमा उनीहरूको रुचि उज्ज्वल भविष्यको संकेत भएको बताएका छन्।
पुष २७, २०८२ आइतबार ०१:४४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।