कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले शनिबार यहाँ पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले विशेष महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मञ्च व्यवस्थापनको काम सम्पन्न गरिएको जानकारी दिए। भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा छ हजारभन्दा बढी कुर्सीहरू राख्ने गरी व्यवस्थापन गरिएको संयोजक पुडासैनीले बताए।
मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसार सामग्री राखिएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित गराउने गरी तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
यस्तै, विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए। महाधिवेशन प्रतिनिधि बस्नका लागि काठमाडौंको सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलमा व्यवस्थापन गरिएको उनले बताए।
पुष २६, २०८२ शनिबार २०:३१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।