रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन्। शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको 'एकता सन्देश सभा' लाई सम्बोधन गर्दै उनले आफ्नो आगामी निर्वाचन क्षेत्रका बारेमा स्पष्ट पारे।

प्रचण्डले भने, “म अहिलेको चुनाव रुकुमैबाट लड्छु। रुकुम पूर्वबाट चुनावी प्रतिस्पर्धामा उत्रने निश्चित भएको छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्नुहोला।” 

उनले रुकुम पश्चिमको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको तर्फबाट गोपाल शर्मा उम्मेदवार बन्ने घोषणा समेत गरे। नेकपाका सह-संयोजक माधवकुमार नेपालको समेत उपस्थिति रहेको उक्त सभामा प्रचण्डले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा पार्टीलाई एकताबद्ध भएर जिताउन आह्वान गरे।

प्रचण्डले नेताहरू विचलित भए पनि कार्यकर्ता र जनता आफ्नो सिद्धान्तमा अडिग रहेको बताए। जनार्दन शर्माप्रति कडा कटाक्ष गर्दै उनले भने, “केही नेताहरू पलायन भए, विचलित भए। तर रुकुमका सचेत जनता र कार्यकर्ताहरू ती भगौडाहरूको पछि नलागी मूल पार्टी र नेतृत्वको साथमा उभिनुभएको छ। यसका लागि म तपाईंहरूलाई धन्यवाद दिन्छु।”

प्रचण्डले आफू रुकुमका जनताको सुख-दुःखमा एकाकार हुने र विकास निर्माणका कामलाई नयाँ सिराबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “तपाईंहरूको विकासको चाहना पूरा गर्न म प्रतिबद्ध छु। रुकुम पश्चिम र पूर्व दुवै क्षेत्र मेरो प्राथमिकतामा रहनेछन्।”

पुष २६, २०८२ शनिबार १७:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।