‘नेतान्याहुलाई पनि मदुरोलाई जस्तै अपहरण गरियोस्’ भनेपछि बिचमै रोकियो पाकिस्तानी रक्षामन्त्रीको अन्तर्वार्ता

‘नेतान्याहुलाई पनि मदुरोलाई जस्तै अपहरण गरियोस्’ भनेपछि बिचमै रोकियो पाकिस्तानी रक्षामन्त्रीको अन्तर्वार्ता

एजेन्सी : पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतानाहुलाई ‘अपहरण’ वा पक्राउ गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन्।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई जसरी पक्राउ गरेको थियो, त्यसरी नै नेतानाहुलाई पनि समात्नुपर्ने बताएका हुन्।

मन्त्री आसिफले नेतानाहुलाई ‘मानवताको सबैभन्दा ठूलो अपराधी’को संज्ञा दिए। उनले गाजामा प्यालेस्टाइनीहरूमाथि भएको अत्याचार इतिहासमै कहिल्यै नदेखिएको घटना भएको बताए।

उनले भने, ‘टर्कीले पनि नेतानाहुलाई पक्राउ गर्न सक्छ र पाकिस्तानीहरू यसका लागि प्रार्थना गरिरहेका छन्।’

पाकिस्तानी वरिष्ठ पत्रकार हामिद मिरसँगको यो अन्तर्वार्ताको क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कुराकानीका क्रममा जब रक्षामन्त्री आसिफले अमेरिकातर्फ संकेत गर्दै अपराधीहरूलाई साथ दिने देश वा व्यक्तिहरूमाथि प्रश्न उठाउन थाले, एंकर मिरले विषय संवेदनशील भएको भन्दै अन्तर्वार्ता बीचमै रोकेर ‘ब्रेक’ लिएका थिए।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले यसअघि नै गाजा युद्ध अपराधको आरोपमा नेतानाहुविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। पाकिस्तानको इजरायलसँग कूटनीतिक सम्बन्ध छैन र उसले खुलेर प्यालेस्टाइनको समर्थन गर्दै आएको छ।

पाकिस्तानी मन्त्रीले उदाहरण दिएको घटना गत जनवरी २ को हो। अमेरिकी सेनाले भेनेजुएलामा कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई सत्ताबाट हटाएर गिरफ्तार गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘लोकतन्त्र बहालीको कदम’ बताएका छन्। लागुऔषध र हतियार तस्करीको आरोपमा मदुरो दम्पतीलाई अहिले न्युयोर्कको हिरासतमा राखिएको छ।

पुष २६, २०८२ शनिबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।