उज्यालो नेपाल पार्टी : रवि-कुलमान वार्ता मिलेन, विहान बोलाएको बैठक पनि स्थगित

उज्यालो नेपाल पार्टी : रवि-कुलमान वार्ता मिलेन, विहान बोलाएको बैठक पनि स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीचको पार्टी एकता प्रक्रिया संकटमा परेको छ।

रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच शुक्रबार भएको निर्णायक वार्ता निष्कर्षविहीन भएपछि एकता प्रक्रिया भाँडिने स्थितिमा पुगेको हो।

स्रोतका अनुसार वार्ता फलदायी नभएपछि घिसिङले उज्यालो नेपाल पार्टीलाई नै ब्युँताएर आसन्न निर्वाचनमा होमिने मनसाय बनाएका छन्।

एकता प्रक्रियामा अन्योल सिर्जना भएसँगै उज्यालो नेपालभित्र आन्तरिक तरंग पैदा भएको छ।

शुक्रबार राति १० बजे ह्वाट्सएप ग्रुपमार्फत शनिबार बिहानका लागि आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको थियो। तर, बैठक बोलाइएको आधा घण्टा नबित्दै कारण नखुलाई बैठक स्थगित भएको अर्को सूचना जारी गरियो।

के हुन् कुलमानका सर्त ?
शुक्रबार लामिछाने निवासमा भएको वार्तामा घिसिङले पार्टीमा आफ्नो र समूहको सम्मानजनक उपस्थितिको ग्यारेन्टी खोजेका थिए। स्रोतका अनुसार कुलमानले केन्द्रीय समितिमा आफ्नो पक्षका २६ जना हुनुपर्ने अडान राखेका छन्।

यद्यपि, रास्वपाले १२ सिट मात्र दिन सकिने र केही संख्या थपघट गर्न सकिने तर २६ पुर्याउन नसकिने जवाफ दिएको छ। बालेन साहको कोटाबाट मनोनित सदस्यहरूको योग्यतामा प्रश्न उठेको नजिर हेर्दै रास्वपाले यसपटक योग्यता र क्षमताका आधारमा मात्र जिम्मेवारी दिने अडान लिएको छ।

यसका अलावा कुलमानले आफू पार्टीको दोस्रो वरीयतामा रहनुपर्ने, समानुपातिकतर्फ कम्तीमा ६ जनाको सिट सुनिश्चित हुनुपर्ने र प्रत्यक्षतर्फ ३० प्रतिशत उम्मेदवारी आफ्नो पार्टीले पाउनुपर्ने माग अघि सारेका छन्।

पारिवारिक दबाब र दुई धार
कुलमानलाई अडान नछाड्न पारिवारिक दबाब समेत रहेको बुझिएको छ। उनका दाइ गणेश घिसिङ र भाइ अनिल घिसिङले उनलाई राजनीतिमा साथ दिँदै आएका छन्।

यता, उज्यालो नेपालभित्रै भने लचिलो भएर एकतामा जाने कि अडान नछाड्ने भन्नेमा दुई धार देखिएको छ। एकता पक्षधर नेताहरूले भने सहमति भइसकेको विषयमा पुन: विवाद झिक्नु राजनीतिक इमानदारिता नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

रास्वपासँगको एकता सम्भव नभए कुलमानले वैकल्पिक रणनीतिसमेत तयार पारेका छन्। स्रोतका अनुसार उनले समानुपातिकको बन्दसूची बुझाएको कुनै अर्को दलसँग तालमेल गर्ने र आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै उज्यालो नेपालबाटै प्रत्यक्षमा चुनाव लड्ने सम्भावना रहेको छ।

शुक्रबार साँझ नै कुलमानले बौद्धस्थित एक होटेलमा आफूनिकट नेताहरूसँग पछिल्लो परिस्थितिबारे छलफल गरेका थिए।

पुष २६, २०८२ शनिबार १२:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।