कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबारका सबै कार्यक्रम स्थगित
काठमाडौं : नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै कांग्रेसको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले आज (शनिबार) का लागि तय गरिएका सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ।
विशेष महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजना गर्ने भनिएको पदयात्रालगायतका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए।
८४ वर्षीय दाहालको निधनले पार्टी र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाउँदै सचिवालयले शोक वक्तव्य जारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण दिनहरूमा बीपी कोइरालासँगको सान्निध्यमा रही राष्ट्र पुकार लगायतका पत्रिकामार्फत उहाँले पुर्याउनुभएको योगदान अतुलनीय छ। नेपालको पत्रकारिता र राजनीतिक जगतले एक असल योद्धा गुमाएको छ।’
सचिवालयले आजका कार्यक्रम स्थगित भए पनि भोलि (आइतबार) र पर्सि हुने विशेष महाधिवेशन भने पूर्व निर्धारित कार्यतालिका अनुसार नै सञ्चालन हुने प्रस्ट पारेको छ।
भोलि हुने विशेष महाधिवेशनको उद्घाटन समारोह स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु गरिने संयोजक आचार्यले बताएका छन्।
पुष २६, २०८२ शनिबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।