एक सातामा ७४ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि वृद्धि

एक सातामा ७४ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि वृद्धि

काठमाडौं : नेपाली बजारमा यो साता (पुस २० देखि २५ गतेसम्म) सुनचाँदीको मूल्यमा उच्च उतारचढाव देखिएको छ। साताको सुरुवाती दिनको तुलनामा अन्तिम दिनसम्म आइपुग्दा सुन र चाँदी दुवैको भाउ बढेको छ।

आज शनिबार सार्वजनिक बिदा भएकाले बजारमा शुक्रबारकै मूल्य कायम छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा २ सय ८० रुपैयाँले बढेको छ।

साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार एकै दिन ४ हजार ६ सयले बढेर २ लाख ६५ हजार पुगेको सुनको मूल्य मंगलबार साताकै उच्च बिन्दुमा पुग्यो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भयो।

बुधबार र बिहीबार केही घटेर २ लाख ६५ हजार ७ सयसम्म झरेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पुनः उकालो लाग्यो। शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भई साताको अन्त्य भएको छ।

चाँदीको मूल्य पनि साताको सुरुमा ४ हजार ५ सय रुपैयाँ प्रतितोला रहेकोमा शुक्रबारसम्म आइपुग्दा बढेर ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।

साताको मध्य अर्थात् बुधबार चाँदीको मूल्य साताकै उच्च ४ हजार ९ सय ३५ रुपैयाँसम्म पुगेको थियो। तर, बिहीबार र शुक्रबार भने चाँदीको मूल्यमा केही गिरावट आएको तथ्यांकले देखाएको छ। यद्यपि, समग्रमा साताको सुरुवाती दिनको तुलनामा चाँदीको मूल्य बढेरै बन्द भएको छ।

पुष २६, २०८२ शनिबार १०:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।