धादिङ र मकवानपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर दुई जनाको मृत्यु
काठमाडौं : बागमती प्रदेशका धादिङ र मकवानपुर जिल्लामा शुक्रबार घाँस काट्ने क्रममा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ। दुवै घटनामा ४० वर्ष उमेरका एक महिला र एक पुरुषको ज्यान गएको हो।
धादिङको गजुरी गाउँपालिका-६ राम्चे बगैनीमा ४० वर्षीया सानुमाया सुवेदीको रुखबाट लडेर मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब १२:५० बजे घर नजिकैको बारीको डिलमा रहेको टाँकीको रुखमा घाँस काट्ने क्रममा उनी चिप्लिएर खोल्सामा खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बलराम श्रेष्ठको कमान्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाएको छ।
यस्तै, मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ मक्रानचुलीमा पनि रुखबाट लडेर एक पुरुषको ज्यान गएको छ।
दिउँसो १२ बजे घर नजिकैको चाँपको रुखमा चढेर घाँस झार्ने क्रममा ४० वर्षीय राज कुमार हुमागाईं लडेर गम्भीर घाइते भएका थिए।
उनलाई आफन्तले तत्काल हेटौंडा अस्पताल पुर्याएकोमा थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको थियो।
चितवनमा उपचारकै क्रममा राति ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय मकवानपुरगढीले थप अनुसन्धान गरिरहेको छ।
पुष २६, २०८२ शनिबार ०९:४४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।